राजु अधिकारी, झापा, बैसाख ८- जिल्लाका दुई स्थानमा अघोषित नाकाबन्दी गरेर माओवादीले कार्यकर्तालाई युद्ध तालिम दिन सुरु गरेको छ। बाहुण्डागी र सतासीधामका दुई ठाउँमा सर्वसाधारणलाई समेत प्रवेश निषेध गरेर माओवादीले दुईदिन देखि तालिम सञ्चालन गरिरहेको छ। दुई ठाउँमा गरी ६ सय बढी युवा कार्यकर्ता तालिमरत रहेको माओवादी स्रोतले जनाएको छ ।
पूर्वोत्तर झापाको बाहुण्डाँगी-५ तेलपानी भित्रको जंगल क्षेत्र कब्जा गरेको तालिममा ४ सय युवा सहभागी छन्। पूर्व पश्चिम राजमार्गदेखि साढे आठ किलोमिटर उत्तरमा रहेको तालिम स्थलमा माओवादीका निश्चित कार्यकर्ता बाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ।
त्यस्तै सतासीधामको रतुवा माई वृक्षारोपण आयोजना भित्रको खुला चौरमा दुई सय बढीले तालिम लिइरहेका छन्। राजमार्गदेखि ३ किलोमिटर उत्तरमा रहेको सो क्षेत्रमा पनि अन्यलाई प्रवेश निषेध गरिएको छ। सञ्चारकर्मीलाई कार्यक्रमको समाचार संकलन गर्न रोक लगाइएको छ।
तालिममा सहभागी कार्यकर्तालाई एकसातासम्म स्थानीयबासीको घरघरमा खानबस्नको प्रवन्ध गरिएको पार्टी स्रोतले जनाएको छ। तालिममा महिला, विद्यार्थी तथा वाइसीएलका कार्यकर्ता सहभागी भएको जनाइएको छ। सतासीधाममा जंगल क्षेत्र भएकाले सर्वसाधारणको आवागमन खासै प्रभावित भएको छैन। तर, बाहुण्डाँगीमा तालिमको असर गाउँलेमाथि परेको छ। जंगलको बाटो भएर आवात जावत गर्ने गाउँलेहरु माओवादीले बाटो बन्द गरेपछि अप्ठ्यारोमा परेका छन्। 'हिड्ने बाटो बन्द भएको छ, त्यहाँ के गर्छन को नि थाहा छैन' स्थानीय एक व्यक्तिले बताए।
आफू विरुद्ध लगातार षडयन्त्र भइरहेको बताउँदै माओवादीले देश व्यापी रुपमा आत्मरक्षा तालिम सुरु गरेको हो। झापामा पनि त्यसैलाई निरन्तरता दिँदै तालिम थालिएको हो। 'राजनीतिक र शारीरिक दुवै प्रशिक्षण दिइन्छ' माओवादी जिल्ला इन्चार्ज झलक दर्लामी मगरले भने -यो आत्मरक्षाको लागि हो।' सञ्चारकर्मी तथा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको विषयमा उनले भने - 'यो आन्तरिक कार्यक्रम भएकाले अरुलाई प्रवेश नदिइएको हो।'
स्थानीयबासीहरुका अनुसार विहान सबेरैदेखि तालिम स्थलमा भेला हुने माओवादी कार्यकर्ताले गाउँ नै थर्किने गरी आवाज निकाल्दै शारीरिक अभ्यास गर्ने गरेका छन्। आत्मरक्षा नाम दिइएको तालिममा युद्धकौशल तथा राजनीतिक प्रशिक्षणसमेत हुने गरेको छ । (nagariknews.com)
Wednesday, April 21, 2010
माओवादीले कार्यकर्तालाई युद्ध तालिम दिन सुरु
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment