नवीन पोखरेल लन्डन, वैशाख ९ -
माया भयो अमिलो अंगुर..
हङकङ पोखरा निर्मोही आफ्नो को छ र ?'
गीतले भने जस्तो पोखरेली गायक विवेक श्रेष्ठले नेपालमा कोही नभेटेरै बेलायत यात्रा तय गरेको चाहिं हुनु नपर्ने हो । लाखौं 'फ्यान' थिए उनका पछाडि । कुनै जमाना थुप्रै 'हिट' गीत पस्केको 'कन्दरा व्यान्ड' मा आवद्ध यी लोकपि्रय गायक नेपालमा चर्चा बटुलिरहँदा एक्कासी युके आइपुगे । जिवनसंगिनी सिम्मी पुन (मोडल) का साथ परिवार भेट्न सन् २००१ मा यहाँ छिरेपछि उनी यहाँ अर्कै दुनियाँमा छन् ।
'सुरुमा केही समय अरु बसौंन् भन्ने भयो । बस्दा बस्दै सन् २००२ मा पहिलो सन्तान शिविरा जन्मिइन् तर सानोमा छोरीको स्वास्थमा जटिलता देखिएपछि हामी र्फकन सकेनौं'-उनी कारण खुलाउँछन् ।
त्यो संगीत दुनिया छाडेर अहिले लन्डनमा कतै हराएजस्तो लागिरहेछ उनलाई । रातदिन व्यस्तता छ तर संगीतले होइन । निजी कम्पनीमा काम गर्ने विवेकलाई मुश्किलले संगीत साधना गर्न समय मिल्छ । 'लामो समय बस्छु भन्ने सोचेको थिइन् तर परिस्थिति त्यस्तै भयो'-उनी भन्छन्, 'यद्यपि अब छिट्टै नेपाल फर्केर संगीतमै रम्ने सोच बनाएको छु ।' विवेकले सामवेदको संगीतमा शर्मिला बर्देवासंग मिलेर युकेमा ३ महिनाभित्र एउटा एल्बम र सन् २०११ मा कन्दराको पाँचौं एल्बम सार्वजनिक गर्ने दृढता पनि व्यक्त गरे ।
१२ वर्षदेखि गाउन थालेका विवेक कन्दरा प्रवेश गर्नुअघि नै संगीतको नशामा डुबिसकेका थिए । शास्त्रीय संगीत प्रशिक्षण र एउटा बेग्लै पहिचान बनाइसकेका कारण कन्दरा व्याण्डका अग्रजले पत्याएको उनी बताउँछन् । सन् १९९४ मा कन्दराको पहिलो एल्बम आयो- चञ्चले कान्छी । सन् १९९६ मा दोश्रो एल्बम 'डाँडापारी' निकालेपछि कन्दरा व्याण्ड हिट्स एफएम अवार्ड पाउने पहिलो व्याण्ड बन्यो । यसको लेककी हे मायाँ, विदेशीएर गइन् उनी, तिमी पारी, डाँडापारी...लगायत गीत हिट भए । सन् १९९८ मा तेश्रो एल्बम निस्क्यो- हङकङ पोखरा । यसको 'हिउँ त होइन फाप्रेको डंगुर, माया भयो अमिलो अंगुर...' सहित त्यही देउरालीमा, कहाँ हिंडेकी आदि गीत लोकपि्रय बने । सन् २००७ मा चौंथो एल्बम 'वर्षौंपछि' निस्क्यो । यसको 'तगारोमा रुमाल राखी' पनि दर्शकश्रोताले खुव रुचाए ।
'वास्तवमा हामीले जति एल्बम ल्यायौं, तिबाट कहिल्यै निराश हुनु परेन'-उनी भन्छन् । सन् २००० मा एकल एल्बम 'उत्सव' रिलिज गरे लगत्तै युके छिरेका हुन् उनी । विवेक आफूलाई स्टारभन्दा पनि कलाकार भन्न रुचाउँछन् । 'स्टार बन्न सजिलो छ । नेपालमा स्टारमात्र बढि भए, सबैमा 'स्टारडम' बन्ने होड छ'-उनको विश्लेषण छ ।
युके आउनुअघि भारत, हङकङ, कतार, जापान जस्ता देशमा कन्सर्ट गरिसकेका विवेकको परिकल्पनामा हालै एनआरएन युकेले अग्रज श्रष्टा सम्झ्यो 'टि्रव्युट टु द लिजेन्ड्स्' नामको लाइभ कार्यक्रममार्फत । 'कालजयी गीत मर्दै गएका बेला श्रष्टाका गीत किन नगाउने भनेर त्यस्तो कार्यक्रम परिकल्पना गरें'-उनी भन्छन्-'युकेमा विशुद्ध सांगीतिक भन्दा पनि च्यारिटी कार्यक्रम भइरहँदा यत्रो ठूलो नेपाली समुदायमा वृहत 'शो' नै हुनुपर्छ भनेर विगत तीन/चार वर्षदेखि सोचिरहेको थिएँ, अहिले पुरा भयो ।' नेपाली संगीत इतिहासमा प्रवासमा मात्र नभएर नेपालमै पनि सम्भवतः यस्तो ऐतिहासिक कार्यक्रम नभएको उनको दावी छ । नेपाली संगीत 'वल्र्डवाइड एप्रोच' हुने खालका नभएको उनले बताए ।
नेपाल छँदा मिडियामा उस्तो एक्सपोज नभएका विवेकले मिडियाकर्मीले मोफसलका कलाकारलाई वास्ता नगरेको गुनासो गरे । 'संगीत राजधानीमै केन्दि्रकरण छ, रेकर्डिङ, विमोचनदेखि पब्लिसिटी समेत काठमाडौंमै आएर गर्नुपर्ने अवस्थाले मोफसलका कलाकार छायाँमा छन्'-उनले भने । (इकान्तिपुर)


0 comments:
Post a Comment