दीपेन्द्र बडुवाल
नारायणगढ, वैशाख १३ - माओवादीले व्यक्ति तोकेर डेढ लाख देखि ५ लाख सम्म चन्दा माग गरेपछि चितवनका आइटी व्यवसायीले सेवा बन्द गर्ने निर्णय गरेका छन् । कम्प्युटर एशोसियशन नारायणीले आइतवार साझ पत्रकार सम्मेलन गरी चन्दाको निर्णय फिर्ता नलिए आफना पसलमा ताला लगाएर व्यवसाय अनिश्चितकालीन बन्द गर्ने जनाएका हो ।
आइतवार दिउसो माओवादी कार्यकर्ताले रकम तोकेर चन्दा माग गरेको एशोसियशनले जनाएको छ । तोके बमोजिमको चन्दा नदिए पशल तोडफोड गर्ने र जेसुकै हुने धम्कि कार्यकर्ताले दिएको संस्थाले जनायो । धम्किले आतंकित भएपछि सेवा बन्द गर्ने निर्णय गरेको व्यवसायीले बताए । '१ देखि ५ लाख उल्लेख गरेर चिठी काटियो,' एशोसियशनका अध्यक्ष कमल वास्तोलाले भने,'रकम तिर्न सक्दैनौं ।'
उनले यस क्ष्ाेत्रका ४० 'आइटी' सेवा प्रदायकले माओवादीलाई चन्दा नदिने निर्णय गरेको सम्मेलनमा बताए । 'बरु व्यवसाय बन्द गरेर ताला लगाउछौं,'उनले भने 'चन्दा दिदैनौं ।' कर्मचारीलाई तलव दिन नसकेको अवस्थामा लाखौं चन्दा दिन नसक्ने व्यवसायीले बताएका छन । पहिलो चरणमा पशल बन्द गर्ने, दोश्रो चरणमा अनलाइन सेवा प्रदान गर्ने वल्र्डलिंक र टेकमाइण्डको सेवा बन्द गर्ने जनाएको छ ।
उद्योग बाणिज्य संघ चितवनले आइतवार प्रेश विज्ञप्ती जारी गरी स्वेच्छिक चन्दा माग्नु स्वाभाविक भएपनि दबाब दिइएको जनाएको छ । संघका अध्यक्ष उत्तम चुकेले नाजुक अवस्था भएका व्यवसायी सित ३ लाख सम्म चन्दा माग गरिएको जनाउंदै भने,'बर्षभरीको आम्दानी ३ लाख नहुनेले कसरी दिने ।' उनका अनुसार सबै व्यवसायीलाई पत्र काटेर माओवादीले चन्दा माग गरेको छ । जसरी पनि दिनु पर्ने माओवादी दबाब छ ।
नारायणगढ स्थित सुनचांदी व्यवसायी संघले व्यक्तिगत चन्दा नदिने निर्णय गरेको छ । संघको तर्फबाट एकमुष्ट चन्दा दिने निर्णय भएको जनाएको छ । चन्दामा बिबाद भएपछि माओवादी कार्यकर्ताले नारायणगढको कमलनगर स्थित सतन साह कानु र संगमरोड स्थित कैलाश स्क्रयावको कवाडी पशलमा तोडफोड गरेका छन । माओवादीले कानु सित १० लाख चन्दा मागेका थिए । दुबै व्यवसायी माथि कुटपिट भएको व्यवसायिक संस्थाले बताएका छन । प्रहरी नायव उपरीक्ष्ाक रविराज खडकाले तोडफोड बारे जानकारी नभएको बताए ।
माओवादीले जिल्लाभर जनआन्दोलनका लागि भन्दै चन्दा संकलन सुरु गरेको हो । नारायणगढ, भरतपुर, रत्ननगर, र पर्यटकीय क्षेत्र सौराहा लगायतका बजार र ग्रामिण क्षेत्रमा प्रत्येक व्यवसायीलाई चन्दा दिन पत्र काटिएको छ । 'प्रत्येक व्यवसायीलाई आइसकेको छ,' क्षेत्त्रीय होटल एशोसियशनका अध्यक्ष शंकर सैंजुले भने,'यतिउति भनेर मुख खोलेका छैनन ।' माओवादी कार्यकर्ताले उनलाई छलफलका लागि बोलाएका छन । संकलनका लागि कार्यकर्ता त्यहां खटिएका छन । जिल्ला स्थित नर्सिङ कलेज, नीजि बिद्यालय, मेडिकल कलेज लगायतका सेवा मुलक र व्यवसायिक प्रतिष्ठानमा लाखौं चन्दा माग गरिएको छ ।
माओवादी जिल्ला सह सेक्रेटरी ओवनाथ पाण्डेले ४ दिनमा आन्दोलनको तयारी गर्नुपर्ने भएकाले व्यवसायी सित छलफल नगरी चन्दा माग्नु परेको बताए । उनले पार्टीको चन्दा संकलनका क्रममा कुटपिट र धम्काउने नीति नभएको बताए । 'केही घटना सुन्नमा आएका छन,' उनले भने,'बार्गेनिङ गर्ने क्रममा भयो होला ।' (इकान्तिपुर)
Monday, April 26, 2010
चन्दामा दवाव दिए ब्यवसायमा ताला लगाइने
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment