मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, April 25, 2010

प्रचण्डलाई डा. बाबुरामभन्दा सूर्यबहादुर नै प्यारो

कम्युनिस्टहरूको दाबी छ उनीहरू पदलोलुप हुँदैनन्, तर पछिल्लोपटक माओवादी अध्यक्ष प्रचण्डले कम्युनिस्टहरूको परम्परागत दाबीलाई झुटो प्रमाणित गरिदिनुभएको छ। जनवादी क्रान्तिको ठूलठूला कुरा गर्दै कार्यकर्ताहरूलाई सहादत प्राप्त गर्न तयार रहन 'सर्कुलर' गर्नुहुने प्रचण्डले भित्रभित्रै भने विभिन्न शक्तिकेन्द्रहरूसँग प्रधानमन्त्री पदका लागि 'बार्गेनिङ' गर्दै हुनुहुन्छ ।

आफूलाई प्रधानमन्त्री बनाइदिए बनाइदिनेका लागि जेसुकै गर्न पनि तयार प्रचण्डले स्वदेशी शक्तिकेन्द्र मात्र होइन विदेशी शक्तिकेन्द्रलाई पनि आफू हरेक सर्त मान्न तयार रहेको सन्देश पठाउनुभएको छ । तर, बोली र व्यवहारमा ठेगान नभएका व्यक्तिका रूपमा स्थापित प्रचण्डका कुरालाई अहिलेसम्म कसैले पत्याएका छैनन्। माओवादीकै नेतृत्वमा सरकार गठन गर्ने हो भने बरु डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाइनुपर्छ भन्ने धारणा विकास भएको छ। अर्थमन्त्रीका रूपमा सफल भूमिका निर्वाह गरेर धेरैको मन जित्नुभएका बाबुराम भट्टराई साधारण जीवनशैली र व्यावहारिक सोचका कारणले पनि जनस्तरमा लोकप्रिय हुनुहुन्छ।

माओवादी पार्टीभित्र उहाँको स्थिति जस्तो भए पनि पार्टीबाहिरकाहरू धेरै भट्टराईको प्रशंसक छन्। भट्टराई बोली कम र काम बढी गर्ने नेता भएर मात्र होइन बोलेको कुरामा विश्वास गर्न सकिने भएकोले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वास आर्जन गर्न सफल हुनुहुन्छ। बोली र व्यवहारमा विश्वास बढेकै कारण धेरै नेपाली तथा नेपालका शुभचिन्तक विदेशी मित्रहरूले समेत डा. बाबुरामलाई नेपालको प्रधानमन्त्रीका रूपमा हेर्न चाहेका छन् ।

प्रधानमन्त्री माधवकुमार नेपालले स्वयम् प्रचण्डसँग बाबुरामको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव राखिसक्नुभएको छ। काङ्गे्स र अन्य दलहरू पनि बाबुरामकै नेतृत्वमा हो भने राष्ट्रिय सरकार बनाएर जान सकिन्छ भन्ने सोचमा छन्। तर, माओवादीकै अध्यक्ष रहनुभएका प्रचण्ड भने आफ्नै पार्टीका वरिष्ठ नेतालाई प्रधानमन्त्रीको जिम्मेवारी दिन अनिच्छुक रहनुभएको छ।

भनिन्छ, प्रचण्ड आफ्नो पार्टीभित्र कुनै अर्को नयाँ शक्तिकेन्द्र विकास हुन दिन चाहनुहुन्न । बाबुरामलाई प्रधानमन्त्री बनाए सिङ्गै देशमा उहाँको प्रभाव बढ्ने र त्यस्तो प्रभावको असर माओवादीभित्र पनि पर्ने निष्कर्षसहित प्रचण्डले बाबुराम भट्टराईको बाटो छेक्ने प्रयास गर्नुभएको बताइन्छ। बाबुरामलाई प्रधानमन्त्री बनाइनुभन्दा बरु सूर्यबहादुर थापा या जोसुकै प्रधानमन्त्री बनोस्, आफ्नो पार्टी नै सरकारमा जाँदैन भन्ने भनाइ प्रचण्डको रहने गरेको छ।

स्वदेशभित्र र बाहिरबाट समेत बाबुरामलाई प्रधानमन्त्री बनाउन दबाब आउनसक्ने सङ्केत देखिएपछि प्रचण्डले केही महिनाअघि 'भारतले बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव ल्याएको' भन्दै कार्यकर्ताहरूलाई बाबुरामविरुद्ध भड्काउन प्रयास गर्नुभएको थियो। त्यतिमात्र होइन, त्यसपछि प्रचण्डले राष्ट्रिय स्वाभिमानको आन्दोलन भन्दै नेपाली जनतालाई छिमेकी मित्रराष्ट्र भारतविरुद्ध भड्काउने अभियान सुरु गर्नुभएको थियो।

तर, अहिले पछिल्लो चरणमा प्रचण्डको राष्ट्रियताको आन्दोलन शिथिल भएको छ। उहाँ कृष्ण सिटौला र शेखर कोइरालाहरूमार्फत 'कुरा मिलाउने र प्रधानमन्त्री पद पड्काउने' अभियानमा लाग्नुभएको छ। प्रचण्डको पछिल्लो प्रयासले घ्यू लाग्ने स्थिति बनाइन नसकेको भए पनि पहिलेभन्दा केही सुधार ल्याउने सफलता भने प्राप्त गरेको बुझिन्छ। प्रचण्ड प्रधानमन्त्री पद पाउन जसरी 'क्रेजी' भएर लागिपर्नुभएको छ, त्यसले उहाँको नियतमाथि खोट हुनसक्ने अनुमान गर्न थालिएको छ। 'पहिले प्रधानमन्त्री बन त्यसपछि तिम्रो सत्ता टिकाउन हामी कुनै पनि तरहले सहयोग गर्नेछौँ' भनी उत्तरतर्फका छिमेकीले भनेयता प्रचण्ड प्रधानमन्त्री बन्न ज्यादा छटपटिनुभएको हो। 'दक्षिणको सहयोग लिएर प्रधानमन्त्री बन्ने र उत्तरको सहयोग लिएर प्राप्त सत्तालाई स्थायित्व दिने' जुन रणनीतिक चालबाजीका साथ प्रचण्ड बढिरहनुभएको छ यसले प्रचण्डप्रतिको आशङ्का मात्र बढाएको छैन उहाँको इमेजमा समेत धक्का पुर्याएको छ।

प्रचण्डलाई प्राप्त लोकतन्त्र र देशको अलिकति पनि माया छ भने उहाँ प्रधानमन्त्री पद डा. बाबुराम भट्टराईलाई छोड्न राजी हुनैपर्ने अवस्था छ। आफैं प्रधानमन्त्री बन्नुपर्छ भन्ने सोच नत्यागेसम्म राष्ट्रिय सहमति बन्ने या माओवादीलाई सरकारको नेतृत्व प्राप्त हुने दुवै सम्भावना देखिँदैन।

सूर्यबहादुर, शेरबहादुर या त्यस्तै कुनै बहादुरको नेतृत्वमा सरकार गठन भएमा त्यसका विरुद्ध जनता भड्काउन, कार्यकर्ता परिचालन गर्न र बलजफ्ती सत्ताको वागडोर आफ्नो हातमा लिन सकिन्छ भन्ने विश्वास सायद प्रचण्डमा छ। त्यसैले प्रधानमन्त्रीका रूपमा बाबुरामलाईभन्दा सूर्यबहादुरहरूलाई 'रोज्ने' सोचमा प्रचण्ड रहनुभएको बुझिन्छ। प्रचण्डको यस किसिमको सोचले देशमा तनाव र द्वन्द्व बढाउने त निश्चित छँदै छ, यसबाट प्रचण्डपथ भनेको प्रचण्ड एक्लै सधैं प्रधानमन्त्री बनिरहनुपर्छ भन्ने विचार–पथ रहेछ भन्ने पनि पुष्टि गराउँदै लगेको छ। (नेपालपोर्तुगल)

0 comments: