मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, April 23, 2010

कानुनव्यवसायीले प्रमलाई सुझाए / ‘संविधानसभाको म्याद नथप’

विकास भट्टराई, (काठमाडौं), संविधानसभाको अवधि सकिने दिन सँघारमै आउन लागेपछि असमञ्जस्यमा पर्दै आउनुभएका प्रधानमन्त्री माधवकुमार नेपालले जेठ १४ गतेपछिको संवैधानिक स्थितिका बारेमा बुझन कानुनव्यवसायीसँग बिहीबार राय लिनुभएको छ।

सरकारका मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तालगायत झन्डै २७ जना कानुनव्यवसायीसँग प्रधानमन्त्री नेपालले राय लिनुभएको हो।

नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काले दिएको जानकारीअनुसार राय दिने अधिकांश कानुनव्यवसायीले आगामी जेठ १४ पछि संविधानसभाको अवधि थप्न नहुने बतँएका थिए।
कानुनव्यवसायीहरुले संविधानसभाको म्याद नथपेपछि उन्पन्न हुने जटिल परिस्थिति समाधान गर्न राजनीतिक दल मिलेर जानुको विकल्प नहुने धारणा राखेका थिए।

यदि दलहरु मिल्न नसकेमा कालान्तरमा नेपाल पनि अफगानिस्तान, इराकजस्ता देशको हालतमा पुग्ने चेतावनी कानुनव्यवसायीहरुले प्रधानमन्त्रीलाई दिएको नेपाल बारका पूर्वउपाध्यक्ष शेरबहादुर केसीले बताउनुभयो।

प्रधानमन्त्री नेपाललाई राय दिन बालुवाटार पुगेका कानुनव्यवसायीहरुमा वसन्तराम भण्डारी, र्सवज्ञरत्न तुलाधर, सिन्धुनाथ प्याकुरेल, हरिहर दाहाल, विश्वकान्त मैनाली, शम्भु थापा, विजयप्रसाद मिश्र, भीमार्जुन आचार्य, टीकाराम भट्टराई, गोविन्द बन्दी, हरि फुँयाललगायतका हुनुहुन्थ्यो।

कतिपय कानुनव्यवसायीले जेठ १४ गतेपछि राजनीतिक पार्टी ल्याएका अवधारणापत्रलाई लिएर जनमतसंग्रह गर्नुपर्ने सुझाव दिएको बताइन्छ। नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापाले जेठ १४ गतेपछि नेपाली कांग्रेस, एमाले वा माओवादीमध्ये कसको अवधारणा उचित हुने भनी जनताको राय बुझन जनमतसंग्रह गर्न सकिने भनी प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो।

अधिवक्ता भीमार्जुन आचार्यले जेठ १४ गतेभित्र संविधान नबनेपछि संसद्को चुनाव गर्नुपर्ने र चुनावअघि संविधानको मस्यौदा तयार गर्न एक प्राविधिक समिति गठन गर्नुपर्ने सुझाव दिनुभएको थियो। सो मस्यौदालाई पछि संसद्ले अनुमोदन गरी मुलुकमा लागू गर्नुपर्ने उहाँको धारणा थियो।

नेपाल बारका अध्यक्ष खड्काले बारको पहिलेदेखिकै धारणा संविधानसभाको अवधि थप्न नहुने रहेको भनी आफूले प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनुभयो। जेठ १४ गतेपछि के गर्ने भनी विभिन्न बारका एकाइको पनि धारणा बुझी पछि राय दिने भनी अध्यक्ष खड्काले प्रधानमन्त्रीलाई बताउनुभएको थियो।

अध्यक्ष खड्काले नेपाल समाचारपत्रसँग भन्नुभयो- ‘कार्यविधि गौण कुरा हो। घुँडा धसेर लाग्ने हो भने बाँकी दिनमा पनि संविधान बन्छ भनेर मैले कुरा राखें।’ प्रधानमन्त्री नेपालका सल्लाहकार रघुजी पन्तले विभिन्न कानुनव्यवसायीका विभिन्न थरी राय आएको जानकारी दिनुभयो। सल्लाहकार पन्तले नेपाल समाचारपत्रसँग भन्नुभयो- ‘प्रधानमन्त्रीले धेरै समय लगाएर राय लिनुभएको छ। के कसरी जाने भनी अब पछि निर्णय गर्नुहोला।’ (समाचारपत्र)

0 comments: