१३ बैशाख, काठमाण्डौ । नेपाल आदिवासी जनजाति महासंघ तथा उसका मित्र संगठनहरुले भोलि मंगलबार नयाँवानेश्वरस्थित संविधानसभाको भवन घेर्ने भएका छन् ।
नयाँ संविधान जारी गराउन, नयाँ संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्दै धर्मनिरपेक्षता र संघीयतालाई संस्थागत गर्नका लागि नेपाली जनता जाग्नुपर्ने भन्दै महासंघ र उसका मित्र संगठनहरुले संविधानसभाको भवन घेर्न लागेको महासंघले जनाएको छ ।
संविधानसभाको भवन घेराउ गर्नु अघि उनीहरुले राजधानीको विभिन्न स्थानमा भेला भएर जुलुस प्रदर्शन गर्ने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ र संघीय परिषद्ले माइतीघर मण्डलाबाट दिउँसो १ बजे जुलुस निकाल्ने छन् भने नेवाः स्वायत्त राज्य मंका संघर्ष समितिले वसन्तपुर, पाटन दरबार स्क्वायर र कोटेश्वरबाट र्याली निकाल्ने छ । राजधानीका विभिन्न स्थानबाट निस्किएको जुलुस दिउँसो दुई बजे संविधानसभा भवन नयाँ वानेश्वरमा पुग्ने महासंघले जनाएको छ ।
जनताले कठोर संघर्ष गरेर स्थापना गरेको संविधानसभा अचेत अवस्थामा पुर्याएर नयाँ संविधान बन्ने हो कि होइन भन्ने आशंकाको अवस्था रहेको महासंघले आरोप लगाएको छ । संविधान लेखन कार्य ठप्प मात्र छैन कि संविधानसभा नै रहने कि नरहने भन्ने अवस्था सिर्जित भएको महासंघले जनाएको छ ।
राजनीतिक दलहरु सत्ता लिप्समा लागेर संविधानसभाको कार्यकाल थप्नुपर्ने परिस्थिति सिर्जना गरेको भन्दै उसले नयाँ संविधानको प्रारम्भिक मस्यौदा जनताको हातमा पुर्याएर मात्र संविधानसभाको कार्यकाल थप्नुपर्ने माग राखेको छ ।
संविधानसभालाई मुर्छित अवस्थामा पुर्याएर संघीयता र धर्मनिरपेक्षता विरोधि अभियान चलाउने प्रयाश प्रतिगामी, पुनरुत्थानवादी तथा यथास्थितिवादीहरुले गरिरहेको भन्दै उसले खबरदारीस्वरुप संविधानसभाको भवन घेर्न लागेको हो । (अनलाइनखबर)
Monday, April 26, 2010
जनजातिले भोलि संविधानसभा घेर्ने
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment