स्याङ्जा, वैशाख १०- मातृका यादव नेतृत्वको पुनर्गठित नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आयोजना गरेको स्याङ्जा बन्दले आज बिहानैदेखि स्याङ्जा जिल्लाको जनजीवन पूर्णतः प्रभावित भएको छ।
बन्दका कारण जिल्लाभित्रका सदरमुकाम पुतलीबजार, वालिङ, गल्याङ, बयरघारी, बाँयाटारीलगायतका क्षेत्रमा यातायात, उद्योग, पसल, शैक्षिकसंस्था सबै ठप्प रहेका छन् ।
यद्यपि माओवादीले जिल्लाभित्रका अत्यावश्यक सवारीसाधन एम्बुलेन्स, प्रेस, जन्ती, मलामी, कूटनीतिक नियोगका सवारीसाधन भने चल्न दिने जनाएको छ।
गत चैत २४ गते पुनर्गठित माओवादीका स्याङ्जा जिल्ला संयोजक भीमप्रसाद चापागाईंका परिवारमाथि एकीकृत माओवादी निकट वाइसिएलका कार्यकर्ताहरूले साङ्घातिक आक्रमण गरेकोमा हप्तौँ दिनसम्म पनि प्रशासनले दोषीलाई पक्राउ गरी कारबाही नगरेको भन्दै पुनर्गठित माओवादीले स्याङ्जा जिल्ला बन्दको आह्वान गरेको जनाएको छ।
यसैबीच एकीकृत नेकपा (माओवादी) का जिल्ला इन्चार्ज रमेश सिग्देलले भने आफूहरूमाथि माओवादीले निराधार आरोप लगाएको बताएका छन्।
उनले घटनामा आफूहरूको कुनै संलग्नता नरहेको दाबी गरे। यसैबीच पुनर्गठित माओवादीका कार्यकर्ताहरूले बिहीबार साँझ स्याङ्जाको वालिङमा मसाल जुलुससमेत प्रदर्शन गरेका छन्।
बन्दमा कुनै अप्रिय घटना हुन नपाओस् भनेर जिल्लाको सुरक्षास्थिति कडा पारिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीले बताए।
गत चैत १५ गतेमात्रै पुनर्गठित नेकपा (माओवादी) का केन्द्रीय संयोजक मातृकाप्रसाद यादवले भीमप्रसाद चापागाईंको संयोजकत्वमा स्याङ्जामा नौ सदस्सीय सङ्गठनको विस्तार गरेका थिए। -रासस
Friday, April 23, 2010
एकीकृत माओवादीको विरोधमा माओवादीको बन्द
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment