मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, April 20, 2010

सर्वाधिक विदेश भ्रमण गर्नेमा महिला मन्त्रालयका सचिव

कल्पना घिमिरे

काठमाडौं, वैशाख ८ - राष्ट्रिय मुद्दामा कम चर्चामा आउने महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकी सचिव विन्द्रा हाडा भने सर्वाधिक विदेश भ्रमण गर्ने उच्च प्रशासक भएकी छिन् ।

यो आर्थिक वर्षको हालसम्म सचिव हाडाले १२ पटक विदेश भ्रमण गरेर अन्य मन्त्रालयका सचिवलाई उछिनेकी छन् । संसदको सार्वजनिक लेखा समितिलाई मन्त्रालयले आफ्ना पदाधिकारीको विदेश भ्रमणबारे बुझाएको विवरणमा सचिव हाडा प्रत्येक महिना विदेशमा उडेको देखिन्छ ।

विदेशमा हुने कार्यक्रम र अन्तरक्रियामा मन्त्रालयका सामान्य प्रतिनिधि पठाउँदा हुने ठाउँमा सचिव आफै जाने गरेको कर्मचारीहरुको गुनासो छ । 'एक पटक विदेश गएपछि फर्कन कम्तीमा एक साता लाग्छ, लामो समयका लागि हुने तालिम र अन्तरक्रियामा पनि सहभागी भैरहनुहुन्छ,' मन्त्रालयका एक उच्च अधिकारीले कान्तिपुरसित भने, 'कार्यालयमा काम गर्ने भन्दा पनि उँहालाई विदेश भ्रमण गर्न रुची छ ।'

महिला हिंसा सम्बन्धी तालिम, अन्तरक्रिया र विभिन्न कार्यक्रमका लागि अमेरिका, ब्राजिल, थाइल्याण्ड, इजिप्ट, श्रीलंका, अफगानिस्तान, जापान, स्वीजरल्याण, बोस्नीया, भारतलगायतका देशमा पटक पटक पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

सचिव हाडापछि धेरै विदेश भ्रमण गर्ने कोटिमा मन्त्रालयका सहसचिव रत्नकाजी बज्राचार्य पर्छन् । बज्राचार्य आठ पटक विदेश गएका हुन् । बज्राचार्य जापान, बंगलादेश, इन्डोनेसिया, थाइल्याण, अफगानस्थान, अमेरिका र भारतका भिन्न ठाउँमा पटक पटक पुगेर मन्त्रालयका अरु कर्मचारीलाई उछिनेका छन् ।

गत मार्च ८ गते अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर मन्त्री सर्वदेव ओझासहित सचिव हाडा र सहसचिव बज्राचार्य संगै अमेरिकी पुगेका थिए ।

सचिव र सहसचिवहरु जान नभएका ठाउँमा एक, दुई पटक मात्र विदेश उड्ने मौका पाएका छन् । सहसचिव तिलकराम शर्मा भने यो वर्षमा ब्राजिल र बंगलादेशमात्र जान पाए । उनका अन्य सहकर्मी लक्ष्मीप्रसाद त्रिपाठी थाइल्याण्ड, खड्गबहादुर राना जापान, विजयनारायण मानन्धर ब्राजिल र बंगलादेश पुगे । उपसचिव सूर्यप्रसाद श्रेष्ठ भने भारत र थाइल्याण्ड पुग्न पाए ।

अर्का उपसचिव गजबहादुर रानाले पनि भारत र बोस्निया हर्जगोभिना जान पाए । शाखा अधिकृतहरु ध्रुबबहादुर कुँवर र रविन्द्र आचार्य, भरत शर्मा र चेतराज जोशी पनि नजिकका छिमेकी देश भ्रमण गरेको विवरणमा छ । नायव सुब्बा कुलशेखर अर्याल पनि इण्डोनेसिया जान पाएर विदेश भ्रमण गर्ने मौका पाए ।

लेखा समितिलाई दिइएको विवरण अनुसार मन्त्रालयका पदाधिकारीहरुले यो वर्षमा मात्र ४१ पटक विदेश यात्रा सयर गरेका छन् । मन्त्रालयबाट अनावश्यक विदेश भ्रमण भयो भन्दै व्यवस्थापीका संसदको लेखा समितिले विदेश भ्रमणबारे स्पष्ट पार्न तीन महिना अघि महिला मन्त्रालयलाई पत्र पठाएको थियो । तर पनि विदेश भ्रमण रोकिएको छैन । बरु अझै को जाने भन्ने होडबाजी चलिरहेको छ ।

लेखा समितिको बैठक बसेपछि जवाफ पेश गरेर यसबारे छलफल गर्ने र निर्देशन गर्ने समितिका सदस्य प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।

विदेश नगएकै समयमा पनि प्राय मन्त्रालयमा सचिव हाडा भेटिन्नन् । अनुगमन र मुल्याङकनका लागि भनी विभिन्न जिल्ला गइरहने मन्त्रालयले जनाएको छ । मन्त्रालयमा सचिव बिन्द्रा हाडा आएदेखि नै विदेश जाने तछाड मछाड हुन थालेको हो ।

मन्त्री सर्बदेव प्रसाद ओझा र राज्य मन्त्री रामबचन यादव दुई/दुई पटक मात्र विदेश जाने अवसर पाएका छन् ।

मन्त्री ओझाका अनुसार मन्त्रालयको काम छोडेर सचिवलाई विदेश क्याविनेटले समेत निर्देशन दिएको छ । तर त्यो पालना भएको छैन । यसै विषयलाई लिएर मन्त्री र सचिव बिच बेला बेला असमझदारी हुने गरेको छ । उनीहरुको विदेश भ्रमणबारे मन्त्री ओझा नै दिक्क भैसकेका छन् । 'प्रक्रिया मिचेर सहमति बेगर आफुखुसी विदेश जाने निर्णय गरिरहेका छन्' उनले भने ।

मन्त्रालयमा विदेश भ्रमण बारे विवाद भइरहँदा बैशाख ८ देखि १२ सम्म अल्वानीयामा हुने महिला हिंसा विरुद्ध कार्यक्रममा सहसचिव बज्राचार्यलाई जान सचिबले तोक लगाइदिए । मन्त्री ओझाकहाँ फाइल पुगेपछि 'अधिकार क्षेत्र नाघेर निर्णय नगर्न सचेत गराउने गरी सदर' भन्ने टिप्पणी सहित पास गरिदिएपछि मंगलबार जान तयारी भैरहेका सहसचिब बज्राचार्यले नजाने निर्णय गरेका हुन् ।

'विगतमा जस्ता घटना नहुन भनेर नियन्त्रण गर्न खोजेको हुँ' मन्त्री ओझाले भने । मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई पनि यसबारे जानकारी गराउँदै मन्त्री, राज्यमन्त्री, सचिब, सहसचिव लगायत उच्च अधिकारीहरुको विदेश भ्रमणको लिस्ट पठाएको थियो । 'तर, प्रधानमन्त्री कार्यलयबाट कुनै जवाफ आएको छैन' प्रशासन शाखाका उप सचिब राम प्रसाद भट्टराईले भने, 'देशकै प्रतिनिधित्व गर्नुपर्ने ठाउँमा मात्र उहाँहरु जानु भएको छ ।'
(इकान्तिपुरबाट)

0 comments: