१३ वैशाख, काठमाडौं । सरकारमा सहभागी दस दलले शान्ति सुरक्षा कायम राख्न आवश्यक सबै कदम दृढतापूर्वक चाल्ने निर्णय गरेका छन् । प्रधानमन्त्री माधबकुमार नेपालको आह्वानमा सोमबार विहान बसेको दस दलको संयुक्त बैठकले आन्दोलन फिर्ता लिन एकीकृत नेकपा माओवादीलाई आग्रह पनि गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा सोमबार बसेको संयुक्त बैठकले शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन र नयाँ संविधान निर्माण गर्न दलहरुबीच सहमति र सहकार्य अपरिहार्य रहेको ठहर गरेको छ । सहमति र सहकार्यलाई आत्मसात गरी शान्ति प्रक्रिया र संविधान निर्माणमा सहयोग गर्न बैठकले एकीकृत नेकपा माओवादीलाई आग्रह गरेको छ ।
‘शान्ति सम्झौता र विगतका सहमतिप्रति जिम्मेवार भएर तिनलाई पालना गर्न र शान्ति प्रक्रियालाई पूर्णतामा पुर्याउने कार्यमा सहयोग गर्न यो वैठक एकीकृत नेकपा माओवादीलाई आग्रह गर्दछ,’ बैठकबाट पारित चार बुँदे प्रस्तावमा भनिएको छ ।
आउँदो १८ गतेदेखि माओवादीले गर्ने देशव्यापी प्रदर्शन हिंसात्मक हुने निष्कर्षसहित प्रधानमन्त्री नेपालले राजनीतिक तहबाट समेत प्रतिवाद गर्ने निष्कर्षसहित सरकारमा सहभागी दस दलको संयुक्त बैठक बोलाउनु भएको हो ।
बैठकमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, तराई-मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी सहभागी हुनुहुन्थ्यो । यसैगरी बैठकमा नेकपा मालेका महासचिव सीपी मैनाली, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणा, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशी र समाजवादी प्रजातान्त्रिक पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहको पनि सहभागिता थियो ।
यसअघि गएराति उहाँले सुरक्षा निकायका प्रमुखसँग परामर्श गर्नुभएको थियो । (अनलाइनखबर)
Monday, April 26, 2010
शान्ति सुरक्षाको लागि १० दलले दृढतापूर्वक कदम चाल्ने
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment