खिलानाथ ढकाल, विराटनगर, बैशाख १२ - भनेजति चन्दा नदिएको भन्दै एकीकृत माओवादी निकट विद्यार्थीले विराटनगरको एक निजी विद्यालयको गाडी तोडफोड गरेका छन्। यो विद्यालयसँग अखिल क्रान्तिकारीले ५० हजार रुपैयाँ चन्दा मागेको थियो, 'अन्तिम लडाई'का लागि। निजी विद्यालय बन्दको अनुगमन बहानामा पुगेका माओवादी समर्थित विद्यार्थीले विराटनगर-१४ स्थित भानु मेमोरियल उच्च माविको को १ क १००६ नम्बरको मिनी बस तोडफोड गरेका हुन्।
माओवादीले 'अन्तिम लडाइँका लागि' भन्दै माग देशव्यापी सञ्चालन गरेको चन्दा अभियान अन्तर्गत माओवादीले सो विद्यालयसँग ५० हजार रुपैयाँ चन्दा माग गरेको थियो। विद्यालयले त्यत्रो रकम दिन नसक्ने भनेपछि माओवादी समर्थित विद्यार्थी आएर तोडफोड गरेको प्रिन्सिपल महेन्द्र सिटौलाले बताए।
लट्ठीसहित आएका ७ जना माओवादी विद्यार्थीले रकम माग गरेको तर आफूले पुरानै अडान दोहोर्याएपछि बस तोडफोड गरेको सिटौलाले बताए। 'म अफिसमा बसिरहेको थिएँ उनीहरु सरासर आएर रकम मागे', सिटौलाले नागरिकसँग भने, 'मैले मागेजति रकम दिन नसक्ने भनेपछि तोडफोड गरेका हुन्।' विहान साढे ९ बजे पुगेका माओवादी विद्यार्थीको जथाभावी प्रहारबाट गाडीको दायाँपट्टि र अगाडीको सिसा पूर्ण रुपमा फुटेको छ।
माओवादीले चन्दाका लागि केही दिनयता टेलिफोन गरी 'बार्गेनिङ' गरिरहेका थिए। तर सहमति नभएपछि निजी विद्यालय बन्दको बेला बहाना पारेर माओवादी तोडफोड गरेको उनले बताएका छन्। 'पटक-पटक चन्दा दिने कि नदिने भनेर फोन गरिरहेका थिए, मैले ५० हजार नै चाहिँ दिन नसक्ने अडान राखिरहेको थिएँ', उनले भने।
यसैबीच, क्रान्तिकारी विद्यार्थीले बन्दको अवज्ञा गरेकोले गाडी तोडफोड गरेको दावी गरेको छ। क्रान्तिकारी जिल्ला अध्यक्ष नमिता न्यौपानेले बन्दको अबज्ञा गरी अभिभावक बोलाएर भर्ना गरिरहेकोले तोडफोड गरेको दावी गरिन्। उनले भनिन्, 'चन्दा नदिएको भनेर होइन, बन्दको अवज्ञा गरेकोले तोडफोड गरिएको हो।' (नागरिक)


0 comments:
Post a Comment