मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, April 23, 2010

धम्की आएपछि ठिमुरे हत्याकान्डका पीडितले रुँदै गाउँ छोडे

पाल्पा, वैशाख १० (नागरिक)- गत माघ अन्तिम साता परिवारका चार जनाको हत्या भएपछि अपराधी पक्राउ पर्नुको सट्टा अन्य सदस्यलाई समेत धम्की आउन थालेपछि ठिमुरेको बगाले परिवार विस्थापित भएको छ। आमा, दिदी, छोरी र भाञ्जाभाञ्जी गरी पाँच जनाको घाँटी रेटी हत्या गरिएपछि २० वर्षीय प्रेम बगाले असुरक्षा बढेको भन्दै गाउँ छोडी निस्किएका छन्। हत्यारा पोखरास्थित नयाँ गोरख गणका सैनिक भएको प्रहरीले प्रमाण फेला पारे पनि त्यसमा संलग्न पक्राउ परेका छैनन् ।
दुई महिना बितिसक्दा पनि हत्यारा पक्राउ नपरेकाले गाउँमा बस्न निकै डर भएको प्रेमले बताएका छन्। 'गाउँलेलाई सैनिक हुँ भन्दै चुपचाप लागेर बस्न धम्क्याउन मान्छे गाउँमै आउन थालेका छन्। यस्तो अवस्थामा हामीलाई कसरी बाँकी राख्लान?' उनले भने, 'कोही आएर हामीलाई पनि केही गर्ने हुन् कि भन्ने डरले गाउँ छाड्ने निधो गर्‍यौं।'

टेकनारायण भट्टराई, (ठिमुरे) पाल्पा, बैशाख १०- आँखा रसिला पार्दै २० बर्षे प्रेम बगालेले घरको ढोकामा आँफै ताला लगाए। एक हातले घरको भित्तोमा टेको लिए। मुन्टो घोप्टो पार्दै लामो सुस्केरा हाले। केहीबेर आँखा चिम्लेर दायाँ हात छातिमा राखे उनले। हेर्दा लाग्थ्यो कुनै सिनेमाको नायकले दुःखमा केहि गरिछाड्ने अठोट लिँदैछ। सपथ खाँदैछ।

प्रेमले त्यो क्षण सायद आमाको अनुहार सम्झे। दिदी, भान्जा र भान्जी सम्झे। अनि सम्झे ती प्रियजनको घाँटी रेट्ने अपराधीको कलंकित कालो अनुहार।

अनुहारको आक्रोश हेर्दा लाग्थ्यो उनी भर्खरै अपराधीको कठालो समात्न चाहन्थे। तर २ महिना बितिसक्दा पुलिस प्रशासनले नभेटाएको अपराधीको कठालो उनी कसरी फेला पारुन?

टिनको बाकस र झिटिझाम्टा लिई बगाले परिवारले बुधबार पाल्पा ठिमुरे-१ बुढीचौरको घर, गोठ, खेतबारी र छरछिमेक छाडेका छन्। गाउँबाट यो परिवार अब नफर्कने गरि बिस्थापित भएको छ।

एक हल गोरु, १ भैंसी, ६ बाख्रा, ४ कुखुरा र अन्नपात बेचेर घरगोठ सुनसान पारेर ३ जनाको परिवार तानसेन कैलाशनगरमा यौटा कोठा भाडा लिएर बस्न थालेका छन्।
घर छेउको खेत, मकै छर्न ठिक्क पारेको २ हलको बारी र डाले घाँस सहितको सिम्तको खरबारी गाउँले कसैले अँधियामा लिन मानेका छैनन्। बेच्ने कुरा त टाढैको भो। कारण हो डर।

गाउँकै दलबहादुर थापाले नागरिक संग भने, 'बारी अँधिया लिएँ तर मल बोक्ने खेताला पाइन्। घरकै छोरी बुहारीले मल बोक्दै थिए दोपहरमा डराउन दियो भनेर ढाकर बारीमै फालेर घर आए।' उनले थपे, 'भो मैले अँधिया गर्न सकिन भनेर लिइन।'

बुढीचौरका गाउँलेहरू डरका कारण साँझमा घर बाहिर निस्कदैनन्। छिमेकी पार्वता बगालेले उपल्लो गाउँकी गीता बगालेलाई रातिमा सुत्न बोलाउने गरेकी छिन्। 'श्रीमान बिदेश हुनुहुन्छ, छोरा तानसेन पढ्छ, घटना पछि सधै गीता सुत्न आउछे।'

परिवारका ४ जनाको हत्या पछि प्रेमका काँधमा परिवारको भार थपिएको छ। आमा यमकुमारीले सम्हालेको परिवार उनको मृत्यु पछि पढाइनै छाडेर प्रेमले आँफ्नो काँधमा लिएका छन्। उनी तानसेनको मिलेनियम उच्चमाविका कक्षा १२ का बिद्यार्थी हुन्।
गत माघ अन्तिम साता ५५ बर्षीया यमकुमारी बगाले, छोरी २७ वर्षीया तुलसा, उनका ८ बर्षीया छोरी सन्ध्या र ५ बर्षीय छोरा सञ्जिवको घाँटी रेटी हत्या भएको थियो। हत्यारा पोखरा स्थित नयाँ गोरख गणका सैनिक भएको प्रहरीले प्रमाण फेला पारेको बताएको छ। तर हत्यामा संलग्न सबै अपराधीहरू पक्राउ परेका छैनन्।

दुई महिना बितिसक्दा पनि हत्यारा पक्राउ नपरेका कारण गाउँमा बस्न निकै डर भएको प्रेमले बताए। 'गाउँलेलाई सैनिक हुँ भन्दै चुपचाप लागेर बस्न धम्क्याउन मान्छे गाउँमै आउन थालेका छन्। यस्तो अवस्थामा हामिलाई कसरी बाँकी राख्लान?' प्रेमले थपे, 'कोहि आएर हामिलाई पनि केहि गर्ने हुन कि भन्ने डरले गाउँ छाड्ने निधो गर्‍यौं।' उनले बुवा र बैनीको गाउँमै बस्ने चाहना हुँदा पनि डरका कारण घर छाडेको बताए। केहिदिन पहिले आँफु नेपाली सेनाको मान्छे भएका बताउने एक व्यक्ति बिन नम्बर प्लेटको मोटरसाइकलमा गाउँमै पुगी गाउँलेलाई धम्क्याएका गाउँलेले बताए।

बुधबार बगाले परिवारले गाउँ छाड्दा बुढीचौर गाउँका धेरैका आँखा रसाए। 'अब यो घरले डराउन दिन्छ हामी कसरी बस्ने होला?' छिमेकी ७० बर्षीया नरमती बगालेले पच्यौरीको सप्कोले आँखा पुच्दै भनिन्, 'यति राम्रो घरगृहस्थीमा कुन पापीका आँखा लागे।'

'बुवा ७६ बर्षको हुनुहुन्छ गर्न केहि सक्नु हुन्न।' प्रेमका आँखा आँसुले भरिएका थिए। नागरिकसंग उनले भने, 'बैनी रोगी छे। मैले पढाइ हेर्ने कि बुवा र बैनीको स्याहार गर्ने?'
उनकी १८ बर्षीया बैनी बिष्णुका दुबै मृगौला काम नलाग्ने भएका छन्। ५ कक्षामा पढ्दै उनको एउटा मृगौला काम नलाग्ने भैसकेको थियो। ५ भन्दा माथि पढ्न सकिनन् उनले। बैनीकै उपचारका लागि बुवा मान बहादुर काठमाडौ भएकाले बुधबार घर छाड्दा प्रेम एक्लै थिए। उनलाई छिमेकीले सघाएका थिए।

'काजकिरिया गर्न पनि नपाएर बैनीलाई उपचार गर्न काठमाडौं लैजानु पर्‍यो। बैनी अस्पताल शैयामा छटपटाएकी छे। सबै दुःख एकैचोटी आइलाग्यो।' यसो भन्दा प्रेम भक्कानिएर रुन खोज्दै थिए। सायद घरको भित्तो समाएर छातीमा हात राखेर अघि भर्खर लिएको अठोट सम्झे उनले। उनी छिमेकीका अगाडी सम्हालिए। बुढीचौरका गाउँलेले प्रेमलाई कहिले कसो गाउँ आउँदै गर्नु है बाबु भन्दै आँखाभरी आँसु पार्दै बुधबार अपरान्ह हात हल्लाए। अघिसम्म सम्हालिएका प्रेम बाटोमा भने निकै रोए ।

0 comments: