मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, April 20, 2010

यो वर्ष कुन-कुन महिला चर्चामा रहे ?

टिम अनलाइनको छनौटमा परेका १० अनुहार

सुजाता कोइराला (उपप्रधानमन्त्री)

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता यो वर्ष नेपाली राजनीतिमा सधैँ छाइरहिन्। उनका अभिव्यक्ति र अडानले उनको पार्टी कांग्रेस मात्र हैन पूरै सरकार नै प्रभावित रहिरह्यो। अहिलेको सरकारमा उपप्रधान तथा परराष्ट्र मन्त्री रहेकी कोइराला शक्तिकेन्द्रको रुपमा मात्र नभइ विवादका कारण पनि चर्चित रहिन्। पछिल्लो समय भारतबाटै मेसिन रिडेबल पासपोर्ट ल्याउने निर्णयका कारण चर्चामा रहेकी उनी कुनै समय माओवादीसँग मिलेर अगाडि बढ्नुपर्ने एकहोरो अडानका कारण चर्चामा थिइन्। उपप्रधान मन्त्री पद नपाएकै कारण प्रधानमन्त्रीको भारत भ्रमण त्यागेर अहिलेको सरकारलाई चुनौति दिएकी कोइराला अन्तत उपप्रधान मन्त्री पद हासिल गर्न सफल भइन्। प्रसस्तै आलोचकले घेरिएकी सुजाता कांग्रेसभित्र बलियो नेताका रुपमा स्थापित हुँदै गएकी छिन्।

विद्या भण्डारी (रक्षामन्त्री)
पूर्व प्रधानसेनापति रुकमांगत कटवालपछि माओवादीको कटु आलोचकका रुपमा उत्रिएकी विद्या भण्डारी नेपालकै पहिलो महिला रक्षा मन्त्री हुन्। सेना समायोजनको विषयमा आफ्नै तर्क लिएर अघि बढेकी भण्डारीले आफ्नै दलको नेतृत्वलाई समेत बारम्बार चुनौति दिँदै आएकी छिन्। बृहत् शान्ति सम्झौता र १२ बुँदे सहमतिमाथि नै प्रश्न उठाएर विवादित बनेकी भण्डारीको बोलीलाई आलोचकहरुले सेनाकोभन्दा चर्को भएको टिप्पणी गर्छन्। एमालेमा जनताको बहुदलीय जनवादको नारा घन्काएका स्व. मदन भण्डारीकी श्रीमती विद्याले सेनाको पक्षमा वकालत गरेपछि उनकै दलभित्र पनि थुप्रै आलोचना खप्न परेको थियो। व्लड क्यान्सरबाट पीडित उनी अहिले पनि अस्वस्थ छिन्। तर, उनका अभिव्यक्तिले उनी कुनै पनि दृष्टिकोणले तगडा देखिन्छिन्।

पूर्णकुमारी सुवेदी (उपसभामुख)
मुलुक संविधान निर्माणमा जुटेको बेला संविधान सभाको दोस्रो ठूलो पदमा रहेकी पूर्ण कुमारी सुवेदी शान्त स्वभावकी नेता हुन्। पदीय मर्यादा कायम राख्दै आफ्नै दल एकीकृत नेकपा माओवादीले संविधान सभा बहिस्कार र सरकारका मन्त्रीविरुद्ध अभियान चलाइरहँदा उनले कुनै पनि दिन दलगत अभिव्यक्ति दिइनन्। सभामुखको अनुपस्थितिमा संविधानसभालाई नेतृत्व दिएकी उनी युद्धको पृष्ठभूमिबाट यहाँसम्म आइपुगेकी हुन्। बाँकेबाट प्रत्यक्ष निर्वाचित ५० वर्षीया सुवेदी राजनीतिक दलहरुबीच सहमति र सहकार्यमा अगाडि बढ्नुपर्ने धारणामा विश्वास गर्छिन्। उनले पदीय मर्यादामा देखाएको सन्तुलन र संविधान निर्माणमा खेलेको भूमिकाले यो वर्षमात्र होइन, नेपाली राजनीतिक परिवर्तनको इतिहासलाई नै प्रतिनिधित्व गर्छ।

रामकुमारी झाँक्री (विद्यार्थी नेतृ)
नेकपा एमालेको विद्यार्थी संगठन अनेराश्ववियुको पहिलो महिला अध्यक्षका रुपमा निर्वाचित भएर नयाँ इतिहास रच्ने रामकुमारी झाँक्री सक्रिय थोरै नेपाली युवा नेताहरुमा अग्रस्थानमा छिन्। २०४८ सालदेखि अखिलको राजनीतिमा प्रवेश गरेकी झाँक्रीले जनआन्दोलन दुई महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। पुरुष प्रतिद्वन्द्वीलाई पराजित गरेर देशकै ठूलो मध्येको विद्यार्थी संगठनको नेतृत्व गरिरहेकी उनी अहिले संविधान समयमै जारी गर्नुपर्नै मागसहित सडकमा भेटिन्छिन्। यो वर्ष उनी चर्चामा रहनुको अर्को कारण हो- उनको विवाह।

करिमा बेगम (कृषि राज्यमन्त्री)
कृषि राज्यमन्त्री करिमा बेगम बेगमलाई सरकारमा बसेर गरेको राम्रो कामले हैन पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई थप्पड हानेको प्रकरणले यो वर्ष चर्चित बनायो। नेपाली महिला सशक्तिकरणको मुद्दालाई उनको यो ‘हरकत’ले नयाँ तरङ्ग दिएको छ। ‘हो, मैले पाँच थप्पड हानेँ’- बोल्ड शैलीमा उनले मिडियाकर्मीसँग स्वीकारिन्। अल्पसंख्यक मुस्लिम समुदायकी ३३ वर्षीया करिमा पर्साको क्षेत्र नं.१ बाट संविधानसभा प्रत्यक्षतर्फ निर्वाचित हुन्। कर्मचारी वृत्तबाट उनको थप्पड काण्डको चर्को विरोध र उनको पार्टोको समर्थनको घनचक्करले २२ दलको समर्थनमा बनेको माधव नेपाल सरकार ढल्ने हो कि भन्नेसम्मका टिप्पणी भए। उनको पद कसैले हल्लाउन सकेन बरु चर्चा बढेको छ।

करिन ल्यान्डग्रेन (अन्मिन प्रमुख)
नेपालमा जारी शान्ति प्रक्रियाको अनुगमन गरिरहेको राष्ट्रसंघीय मिसन (अन्मिन)का प्रमुखका रुपमा करिन ल्यान्डग्रेन विदेशी नागरिक भए पनि वर्षभरी चर्चामा छिन्। स्वीडेनमा जन्मिएर जापानमा हुर्केकी ५३ वर्षीया ल्यान्डग्रेन सन् २००८ मा राष्ट्रसंघीय महासचिवको उपविशेष दूतका रुपमा नेपाल आएकी थिइन्। गत वर्ष अन्मिनको म्यान्डेट थपिएपछि यसअघिका अन्मिन प्रमुख इयान मार्टिनलाई उनले विस्थापित गरिन्। यद्यपि मार्टिन नेतृत्वको अन्मिनलाई जस्तै विवादमुक्त बनाउन भने ल्यान्डग्रेन पनि सफल भएकी छैनन्। मा‍ओवादी लडाकुहरुको तथ्यांक उपलब्ध गराउने सम्बन्धमा सरकार र अन्मिनबीच जुहारी चलेको छ। सत्ता साझेदार दलका कतिपय नेताहरु अन्मिनको भूमिकाप्रति सन्तुष्ट छैनन्।

विनिता महर्जन (उसु खेलाडी)
नरदेवीमा अवस्थित जलजला स्कुलमा पढदै गर्दा विनिता महर्जन उसुमा संलग्न भएकी थिइन्। स्कुलमा अतिरिक्त क्रियाकलापको रुपमा उसु खेललाई राखियो। त्यतिबेला उनी ३ कक्षामा अध्ययनरत थिइन्। विनिता सानो हुँदा उनका दाजु विन यपनि उसु खेल्थे। त्यसैले उनको आकर्षण यस खेलतर्फ गयो। बुवा नानुकाजी महर्जन स्थानीयस्तरमा फुटबल खेल्थे। पेशाले इलेक्ट्रिसियन नानुको पहिले देखिको मान्यता थियो- पढेर मात्र हुँदैन, शारीरिकरुपमा सक्षम हुन खेल्नु पनि पर्छ। बाबुको यही आर्दशलाई पछ्याउँदै आइरहेकी २१ वर्षीया विनिताले देशलाई नै गौरवान्वित बनाउने काम गरिन्। उनले एघारौं सागमा नेपाललाई पहिलो स्वर्ण जिताइन्। उसुको थाइची छवानस्पर्धामा भारतीय प्रतिस्पर्धीलाई उछिनेकी विनिता यो सागमा स्वर्ण जित्‍ने कान्छी खेलाडी पनि हुन्। विनिताले २०६१ सालमा एसएलसी परीक्षा दिएपछि रंगशाला टेकेकी थिइन्। प्राइम कलेजमा विविएस तेस्रो बर्षमा अध्ययनरत विनिता एघारौं सागमा स्वर्ण जित्नका लागि दैनिक ३ घण्टा रेगुलर अभ्यास गर्ने गर्थिन। उनले स्वर्णलाई सुनिश्चित पार्न पावर ट्रेनिङ र जम्पिङमा विशेष ध्यान दिएकी थिइन्। उनले पछिल्लो ५ बर्ष रंगशालामा कडा मेहनत गरेकी थिइन्। सन् २००८ बंगलादेशमै भएको साफ च्याम्पियनसिपमा तेस्रो भएपछि उनले अभ्यासमा झन् बढी समय बिताएकी थिइन्।

अञ्जु पन्त (गायिका)
नबिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’.अञ्जु पन्तलाई गत वर्ष सार्वजनिक भएको यही गीतले चिनायो र यही गीत कै कारण उनी यो वर्ष पनि चर्चाको शिखरमा रहिन्। उनले यो वर्ष थुप्रै अवार्डहरु पाइन्। हिट्स एफएमको अवार्ड, कालिका एफएम अवार्ड ती मध्ये केही हुन्। साधना कला केन्द्रले राजधानीमा आयोजना गरेको १६ वटा अविस्मरणीय गीतहरूको प्रस्तुतिमा पनि कान्छी गायिकाका रुपमा अञ्जु पन्तले ‘नबिर्से तिमीलाई…’ नै गाइन्। नेपाल चलचित्र प्राविधिक संघले प्रदान गर्ने नेफ्टा फिल्म अवार्डमा सिलसिला फिल्मको ‘सागर सरी चोखो माया’ गीतमा राजेशपायल राईको पनि युगल गायन भए पनि अवार्ड भने उनले मात्रै जितिन्।

रेखा थापा (कलाकार)
सेक्सी नायिकाको उपमा पाएकी रेखा थापा यो वर्ष राजनीतिक कारणले पनि चर्चामा आइन्। माओवादी आन्दोलनका क्रममा सिंहदरबार घेरिरहेका अध्यक्ष पुष्पकमल दाहाललाई उनले ‘कि लाउ माया मै तिर..’ गीत गाउँदै नचाइदिइन्। टेलिभिजन र पत्रपत्रिकामा जोडीले कम्मर मर्काइ मर्काइ नाचेको दृश्य सार्वजनिक भएपछि सर्वहारा वर्गका नेता झिल्के गीतमा नाचेको भनी दाहालको आलोचना भयो। रेखालाई समेत माओवादी कार्यकर्ता बनेको आरोप लाग्यो। भलै उनले त्यो छाप मेट्न अन्तर्वार्ताहरु दिइरहिन्। विपक्षी दलका शक्तिशाली नेतादेखि विश्वका सबैभन्दा होचा व्यक्ति बन्ने होडमा रहेका खगेन्द्र थापामगरसम्मका आकर्षण बनिन् उनी। यी ग्ल्यामरस नायिकाले यो वर्ष एउटा भजनसमेत रेकर्ड गराइन् जसलाई उनले विराटनगरको एउटा कार्यक्रममा पहिलो पटक सार्वजनिक रुपमा गाइन्।

नम्रता श्रेष्ठ (नायिका)
नम्रता अभिनित मेरो एउटा साथी छ असोजको पहिलो साता काठमाडौंका हलहरुमा चलिरहँदा उनको करिअर नै समाप्त भएको हो कि भन्ने खालका चर्चाले बजार पिट्यो। नितान्त व्यक्तिगत सम्बन्धको भिडियो सार्वजनिक भएपछि नेपाली सिनेमाकी उदाउँदी हिरोइनमाथि थुप्रै प्रश्नहरु तेर्सिए। कतिले त नायिका श्रीषा कार्कीकै काण्डसँग नम्रतालाई जोडेर टिप्पणी पनि गरे। तर उनले सबै आलोचनालाई मौन रहेर बेवास्ता गरिन् र आफ्नो क्षेत्रको उपस्थितिलाई निरन्तरता दिइन्। उनी ‘बिच क्रिकेट’को गुडविल एम्वेस्डरका रुपमा सार्वजनिक हुँदा त उनका शुभेच्छुकहरुले नागरिकन्युजमार्फत त्यसको भव्य स्वागत गरे।
(स्रोत : नागरिकन्यूज)
संयोजनः उमेश श्रेष्ठ/कृष्ण ढुंगाना/ऋषिकेश दाहाल

0 comments: