अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गर्ने उद्देश्यले मङ्सिर १९ गते सगरमाथाको आधारशिविर, कालापत्थरमा सम्पन्न मन्त्रिपरिषद् बैठकसम्बन्धी समाचारले विश्वका करिब ९० देशका आमसञ्चार माध्यममा उच्च प्राथमिकता पाउनु २०६६ साल हिमाली मुलुक नेपालका लागि गौरवको विषय बन्यो।
'उच्चस्तरीय मैत्रीपूर्ण एवम् सद्भावना भ्रमणमार्फत कुटनीतक सम्बन्ध सुधारका साथ विश्वसमुदायसँग सुखदुःख साटी आर्थिक कूटनीतिलाई प्रभावकारी एवम् उपलब्धिमूलक बनाउन २०६६ साल नेपालका लागि कोशेढुङ्गा सावित भएको छ। विशेषगरी गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट फागुनको पहिलो हप्ता भएको सद्भावनापूर्ण औपचारिक पहिलो भारत भ्रमण दुई देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्याउन सफल भएको छ।
प्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी मुलुक भारत र चीनमा गर्नुभएको सद्भावना भ्रमणबाट परम्पराकालदेखि रहिआएको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध अझ प्रगाढ, सन्तुलित र चिरस्थायी तुल्याउन सहयोग पुगेको सर्वत्र महसुस गरिएको छ। मुलुकका कार्यकारी प्रमुखबाट विश्वमै उदयमान दुई छिमेकी देशमा भएका उच्चस्तरीय औपचारिक भ्रमणबाट वाणिज्य तथा व्यापार, ऊर्जा, शिक्षा, स्वास्थ्य, कृषिलगायत विकास निर्माणका क्षेत्रमा अपेक्षा गरेभन्दा बढी सहयोग प्राप्त गरी मुलुकको आर्थिक कूटनीतिले गति लिएको धारणा सम्बद्ध क्षेत्रबाट आएको छ । दीर्घकालीन सोचसहित होसियारीपूर्वक गरिएका द्विपक्षीय सहयोगसम्झौता कार्यान्वयन चरणमा गएपछि देश र जनताले राहतको महशुस गर्ने अपेक्षा गरिएको छ। वातावरण संरक्षण अभियानअन्तर्गत सम्पन्न बहुचर्चित कालापत्थर बैठकदेखि कोपेनहेगेन शिखर सम्मेलनमार्फत नेपाल विश्वमाझ चर्चाको शिखरमा पुग्न सफल भएको छ। तापक्रम वृद्धिसँगै हिउँ पग्लनेक्रम तीव्र बनिरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गर्ने उद्देश्यले मङ्सिर १९ गते सगरमाथाको आधारशिविर, कालापत्थरमा सम्पन्न मन्त्रिपरिषद् बैठकसम्बन्धी समाचारले विश्वका करिब ९० देशका आमसञ्चार माध्यममा उच्च प्राथमिकता पाउनु २०६६ साल हिमाली मुलुक नेपालका लागि गौरवको विषय बन्यो। प्रमुख एजेन्डा 'वातावरण संरक्षण' रही मङ्सिर २२ देखि पुष ३ गतेसम्म डेनमार्कको राजधानी कोपेनहेगेनमा सम्पन्न १९३ राष्ट्रका नेता तथा सम्बद्ध क्षेत्रमा क्रियाशील सरकारी तथा गैह्रसरकारी सङ्घसंस्थाका ५० हजारभन्दा बढी प्रतिनिधि सम्मिलित १५ औँ विश्व शिखर सम्मेलनमा हिमाल बचाउ अभियान सञ्चालन गरेर विश्वमाझ आफ्नो छाप छोड्न नेपाल सफल देखियो। बहुचर्चित कोप–१५ सम्मेलनमा सक्रिय सहभागीका साथ विश्वका शीर्षस्थ नेताहरूसँग द्विपक्षीय तथा बहुपक्षीय वार्ता गरी विकसित सम्बन्धलाई अझ प्रगाढ र फलदायी तुल्याउँदै मुलुकको हितमा प्रयोग गर्न पनि नेपाली प्रतिनिधिमण्डल सफल भयो। प्रधानमन्त्री नेपालले असोज ६ गतेदेखि न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घीय ६४ औँ महासभालाई राज्यका तर्फबाट कहालीलाग्दो चित्रणसहित ओजपूर्ण मन्तव्य प्रस्तुत गरी नेपालजस्ता विकासोन्मुख हिमाली राष्ट्रका समस्या उजागर गर्ने मञ्चका रूपमा सदुपयोग गर्नुभयो। वातावरण र वन तथा भू–संरक्षण मन्त्रालयको उच्च प्रतिनिधि मण्डलले भदौ १८ गते स्वीट्जरल्यान्डको राजधानी जेनेभामा विश्वका करिब १५० मुलुक सहभागी विश्व हावापानी सम्मेलनका क्रममा हरितगृह ग्यास उत्सर्जनमा कटौती, ओजन तहको पातलीकरणबाट उब्जने समस्या र चाल्नुपर्ने कदम, वृक्षारोपण तथा वनसंरक्षण, वातावरणमैत्री उद्योगधन्धा तथा सवारीसाधनलगायतका विषयमा विश्वको ध्यानाकर्षण गरायो। यसैगरी वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोको नेतृत्वमा भारत भ्रमणमा गएको प्रतिनिधिमण्डल भन्सारमैत्री वातावरण निर्माण गर्न, नेपाली उत्पादनलाई निर्यातमा प्राथमिता दिन, सीमा क्षेत्रमा भन्सार नाका बढाउन, पेट्रोलियम पदार्थको आयातमा बैङ्क ग्यारेन्टीसहित सुविधा व्यवस्था गर्न आग्रह गरेबमोजिम केही क्षेत्रमा भारतीय सहयोग जुटाउन सफल भयो। उपप्रधानमन्त्रीद्वय विजय गच्छदार र सुजाता कोइरालाको नेतृत्वमा गएको भारत भ्रमणले कूटनीतिक सम्बन्ध सुधारका साथ विकास निर्माणमा सहयोगको वातावरण तयार गरेको, उपप्रधानमन्त्री कोइरालाले चीन भ्रमणमार्फत कूटनीतिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकता दिनुभएको, श्रम तथा यातायात व्यवस्थामन्त्री मोहम्मद अफ्ताव आलमले खाडी मुलुक पुगी श्रमसम्बन्धी स्वदेशमैत्री सम्झौता गर्नुभएको र विभिन्न समयमा मन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीद्वारा भएका वाह्य भ्रमणबाट मुलुकको वैदेशिक सम्बन्ध सुधारका साथ आर्थिक कूटनीतिमा समेत ऐतिहासिक सफलता मिल्यो। गत वर्ष नेपाल र भारतका प्रधानसेनापतिले एकअर्का देशका सेनापतिको मानार्थ पदवी प्राप्त गर्नुभएको, चीन तथा संयुक्त अधिराज्यका उच्चपदस्थ सैन्यअधिकृत नेपाल भ्रमणमा आएको, मुलुकमा जारी शान्तिप्रक्रियामा सहभागी एक पक्ष राष्ट्रसङ्घीय उच्चस्तरीय प्रतिनिधिमण्डल तथा ट्रोइका टोलीको सङ्क्रमणकालीन नेपालको वास्तविकता बुझ्ने क्रम जारी रहेकाले विश्वभर नेपाल चर्चामै रह्यो।
यसैगरी कात्तिक महिनाको श्रीलङ्कन राष्ट्रपति महिन्दा राजापाक्षको तीनदिने नेपाल भ्रमण, भारतीय तथा चिनियाँ उच्च अधिकारी तथा नेतागण, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, नेपाललाई अधिकतम सहयोग प्रदान गर्दै आएका युरोपेली मुलुक तथा जापानका उच्चस्तरीय नेताको नेपाल भ्रमणबाट कूटनीतिक सम्बन्ध विस्तारका साथ पारस्परिक लाभका आधारमा सहयोग आदानप्रदान गर्न नेपालसँग सम्बन्धित पक्षले प्रतिबद्धता व्यक्त गरेको छ। जलस्रोतमन्त्री विष्णुप्रसाद पौडेल केन्याको राजधानी नैरोवीमा वैशाख पहिलो हप्ता आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन जानुभएको तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष झलनाथ खनाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा साताव्यापी भ्रमणका लागि त्यसतर्फ जानुभएको थियो।यसैगरी एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा साताव्यापी मैत्रीपूर्ण भ्रमणमा व्यस्त हुनुभयो। यसैगरी सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेल चीन सरकारको निमन्त्रणामा साताव्यापी भ्रमणका लागि बेइजिङमा व्यस्त हुनुभयो। वैशाख १९ गते जापानी रक्षा उपमन्त्री नोबुओ किसी नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा काठमाडौँमा व्यस्त हुनुभएको, प्रधानमन्त्री नेपाल र दक्षिण तथा केन्द्रीय एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री रोबर्ट ओ ब्लेकबीच भेटवार्तासमेत भएको थियो। दुई प्रभावशाली कूटनीतिक नियोगका रूपमा परिचित संयुक्त राज्य अमेरिका र न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधिका लागि क्रमशः डा. शङ्करप्रसाद शर्मा र ज्ञानचन्द्र आचार्य भदौ २५ गते नियुक्त हुनुभएको थियो। प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेललाई चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई)द्वारा आयोजित ज्ञानविज्ञान प्रतियोगितामा विशेष पुरस्कारबाट सम्मान गरियो भने भारतको मुम्बइमा सम्पन्न मुम्बइ मेर्यसकप अन्तर्रारष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताअन्तर्गत नेपालका रिजेन्द्र राजभण्डारीले अनरेटेडतर्फको उपाधि जित्न सफल हुनुभयो। यसैगरी मलेसियामा सञ्चालित एसिया महिला ट्वान्टीट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा नेपाल लगातार तेस्रोपटक जित्न सफल भयो। चर्चित गैरआवासीय नेपाली सङ्घ( एनआरएन)को काठमाडौँमा आयोजित चौथो विश्व सम्मेलनाबाट आगामी दुई वर्षका लागि अध्यक्षमा देवमान हिराचन निर्विरोध निर्वाचित हुनुभयो। रासस
Sunday, April 25, 2010
कूटनीतिक क्षेत्रअन्तर्गत २०६६ साललाई फर्केर हेर्दा
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment