मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, April 24, 2010

विद्यालयबाट २९ छात्रा निष्कासित

मिलन परियार

महिनावारी भएका वेला देउता रिसाउने भएकाले निकालिएको हो : छात्रावास इन्चार्ज
नयाँ पत्रिका डोटी, १० वैशाख महिनावारी भएका छात्रा छात्रावासमा बस्दा देवी-देउता रिसाएको भन्दै डोटीको एक विद्यालयले २९ जना छात्रालाई विद्यालयबाटै निष्कासन गरेको छ । वनलेक-१ बानडुग्रीसेनस्थित सिद्धेश्वर उच्च माध्यमिक विद्यालयले छात्रावासमा रहेका २९ छात्रालाई यसै शैक्षिक सत्रदेखि निष्कासन गरेको हो ।

बारपाटा, लाटामाडौं, पचनाली र वनलेकका छात्रा झोला-झाम्टा बोकेर निराश हुँदै शुक्रबार घर फर्किएका छन् । दुई वर्षदेखि सञ्चालनमा आएको सो छात्रावासमा राति देउताले छल गर्दै अन्य विद्यार्थीसमेत बेहोस हुने र काम्ने गर्न थालेकाले छात्रालाई हटाइएको छात्रावास इन्चार्ज मेघराज रोस्याराले बताए ।

विद्यार्थीले भने आफूहरूलाई गलत आरोप लगाएर पढ्नबाट वञ्चित गराएको बताएका छन् । उच्च शिक्षाका लागि महिलाको सहभागिता बढाउने सरकारी नीतिअनुसार अभिभावकले आफ्ना छोरीलाई सो महिला छात्रावासमा राख्दै आएका थिए ।  

गत वर्षदेखि छात्रावासमा बस्दै आएकी कक्षा आठकी मनिसरा बलायरले भनिन्, 'एक्कासि बिदाको समयमा हामीलाई अब छात्रावासमा नआउनू भनेर खबर पठाए ।' आफू शारीरिक रूपमा अशक्त भएकाले सो छात्रावासमा बसेर पढ्ने गरेको तर अहिले आएर महिनावारी भएका छात्रा बस्न नपाइने भनेपछि बाध्य भएर र्फकन लागेको उनले बताइन् । 'अब मैले पढाइ कसरी अघि बढाउने,' उनले गुनासो गरिन् ।

विद्यालयका प्रधानाध्यापक मानबहादुर रोकाया भने भवन अभावका कारण छात्रालाई निकाल्नुपरेको भनेर पन्छिए । सो विद्यालयमा १२ वर्षदेखि परिचारिकाकी रूपमा काम गर्दै आएकी वनलेक-२ बानेडुग्रीसैनकी पशुपतिदेवी बलायरले पनि महिनावारी भएको समयमा विद्यालयमा आए सन्चो नहुने र शरीरको मासु सुक्दै जाने बताइन् ।

'महिनावारी भएका वेला विद्यालय आउँदा मलाई पनि सन्चो हुँदैन,' उनले भनिन् । विद्यालय नआउँदाको पाँच दिनको तलब विद्यालयले काट्ने गरेको उनले जानकारी दिइन् । गत वर्ष असोजमा बाढीले विद्यालयनजिकैको बजार बगाएपछि त्यसको दोष छात्रावासमा बसेका महिलालाई लगाइएको थियो । महिनावारी भएका वेला छात्रा विद्यालयमा बसेका बाढी आएको भन्दै उनीहरूलाई अहिले छात्रावासमा निषेध गरिएको स्थानीय गोमादेवी बलायरले बताइन् ।

सो विद्यालयमा अध्ययन गर्ने छात्रा आफ्नो पढाइ पूरा गरी गएपछि देउतालाई खुसी पार्न र महिनावारी भई स्कुल आएको गल्तीबाट माफ पाउन बोकाको बलिदिने चलनसमेत सो विद्यालयमा रहेको स्थानीय बासिन्दाले बताएका छन् । सो विद्यालयमा छात्रा दुई सय ६५ र छात्र तीन सय ३३ जना गरी पाँच सय ९८ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको होस्टेलमा रहेका कुनै पनि छात्रलाई भने निष्कासन गरिएको छैन ।

0 comments: