रमेशचन्द्र अधिकारी
धनकुटा, वैशाख ७ - तोकिएको समयसीमाभित्र संविधान जारी गरिनु पर्ने लगायत माग राख्दै नेपाल निजामती कर्मचारी संगठनले मंगलबार सदरमुकाममा प्रदर्शन गरेको छ ।
स्थानीय मदनचोकबाट सुरु भएको र्यालीले सदरमुकामका विभिन्न स्थानको परिक्रमापछि जिल्ला प्रशासन कार्यालयमा कोण सभा गरेको थियो । संविधान निर्माण गर्ने समयसीमा छोटिदै गएपछि जनताको चाहना अनुसारको संविधान घोषणा नगरिए पेशाकर्मीहरु कार्यालय बन्द गरी जनतासँगै सडकमा उत्रने चेतावनी उनीहरुले दिएका छन् । आम नागरिकको सर्वाधिक चासो र चिन्ताको विषय बनिरहेको संविधान निर्माण कार्यप्रति जिम्मेवार राजनैतिक दल, संविधानसभा सदस्य तथा सरकारले भने ध्यान नदिएको भन्दै कर्मचारीले उक्त कार्यको निन्दा र भत्र्सना समेत गरेका छन् ।
सामाजिक सुरक्षा, श्रमको उचित सम्मान, राजनैतिक अधिकार सहितको ट्रेड यूनियन अधिकारलाई मौलिक हकमा समावेश गरि निर्धारित समयभित्र संविधान जारी गरिनु पर्ने माग अघि सारिएको संगठनका जिल्ला अध्यक्ष जयराम श्रेष्ठले बताए । पेशागत अधिकार समावेश भएको आगामी जेठ १४ भित्र नै संविधान जारी गर्ने मुख्य माग रहेकोले सम्बन्धित पक्षले ध्यान नदिए आन्दोलनका सृङ्खलाबद्ध कार्यक्रम अघि सारिने उक्त संगठनका केन्द्रीय कोषाध्यक्ष मुकुन्द पराजुलीले बताए ।
प्रदर्शनमा उत्रिएका पेशाकर्मीले प्रमुख जिल्ला अधिकारी मार्फत संविधानसभा अध्यक्षलाई ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्र बुझाउन प्रशासन कार्यालय पुगेका कर्मचारीलाई कार्यालय हाताभित्र प्रवेशमा प्रहरीले हस्तक्षेप गरी रोक लगाएपछि दुवै पक्षबीच सामान्य झडप समेत भएको थियो ।
आफुहरु राष्ट्रसेवक भएको र जायज माग राख्दै आएको जानकारी गराउँदै प्रहरीको घेरा तोड्दै कर्मचारी कार्यालय हातामा प्रवेश गरेका थिए । उनीहरुले निमिक्त प्रजिअ ओमकार न्यौपाने मार्फत ज्ञापनपत्र बुझाएका थिए । न्यापानेले ज्ञापनपत्र तत्काल संविधानसभामा प्रेषित गरेको जानकारी दिए ।
पर्साका कर्मचारी पनि सडकमा
निजामति कर्मचारी संगठन पर्साले ट्रेड युनियन अधिकारलाई मौलिक हकमा समावेश गरी निर्धारित समय सीमा भित्रै संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी गर्न माग गरेको छ ।
संगठनले मंगलबार पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत सभामुख सुवास नेम्वाङ्गलाई ज्ञापनपत्र पठाई यस्तो माग गरेको हो । ज्ञापन पत्रमा पेशाकर्मीहरुका एजेण्डा क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको ग्यारेन्टी,सामाजिक सुरक्षा,श्रमको सम्मान,राजनीतिक अधिकार सहितको टे्रड युनियन अधिकारलाई मौलिक हकमा समावेश गरी निर्धारित समयसीमा २०६७ जेठ १४ गते भित्रै संघिय लोकतान्त्रिक गणतन्त्रको नेपालको नयाँ संविधान जारी गर्न माग गरीएको छ ।
संगठन पर्साका अध्यक्ष सुवदार प्रसाद यादबको नेतृत्वमा रहेको कर्मचारी टोलीले उक्त ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा संविधान निर्माणको निर्धारित समयसीमा ३९ दिन भन्दा कम भई रहेको अवस्थामा समेत जिम्मेवार संविधानसभा, राजनीतिक दल तथा सरकार गम्भिर नबनेको र तोकिएको समय सीमा भित्र संविधान घोषणा हुने बिषयमा आम नेपाली जनता र पेशाकर्मीहरुको गम्भिर आशंका उत्पन्न भई रहेकोले तिनवटै निकायको ध्यानाकर्षण गराइएको उल्लेख छ ।
यस अघि घण्टाघरबाट सुरु भएको कर्मचारीको जुलुश नगरको बिभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालयका पुगेको थियो । जुलुशमा कर्मचारीहरुले नया तलबमान कायम गर, सुशासन कामय गर, नयाँ संविधान जारी गर,कार्यालय स्थलमा भरपर्दो सुरक्षाको व्यवस्था गर जस्ता नारा लगाएका थिए ।
(इकान्तिपुरबाट)
Tuesday, April 20, 2010
संविधान नबने जनतासँगै आन्दोलनमा उत्रने कर्मचारीहरुको चेतावनी
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment