मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, April 23, 2010

उपसचिवलाई १०, अधिकृतलाई ८ र सुब्बालाई ५ हजार 'चन्दा' तोकियो

दिलीप पौडेल, बाग्लुङ, वैशाख १०- एकीकृत नेकपा माओवादीका कार्यकर्ताले अन्तिम लडाईँका लागि भन्दै बाग्लुङमा चन्दा अभियानलाई तीब्रता दिएको छ। मुलुक मुठभेडतर्फ गइरहेको अवस्थामा लडाईँका लागि भन्दै चन्दा सङ्कलन गर्न थालेपछि कर्मचारीदेखि सर्वसाधारण त्रसित बनेका छन् ।

माओवादीको मगरात राज्य समितिका सचिव पूर्णबहादुर घर्ती मगर आभासद्वारा हस्ताक्षर गरिएको पत्र र रसिद कर्मचारीलाई थमाएका छन्। व्यापारी र निजी विद्यालयमा अब उठाउने तयारी भइरहेको माओवादी स्रोतले बतायो ।

माओवादीले सेकेण्ड क्लास अफिसर (अधिकांश सरकारी कार्यालय प्रमुख) लाई १०, तेस्रो तहका अधिकृतलाई ८ र नासुलाई ५ हजार रुपैयाँका दरले रकम माग गरेको छ। तर उनीहरुले बार्गेनिङ गरी घटाएर दिने गरेका छन्।

सेकेण्ड क्लास अफिसरले ३५ सयदेखि ५ हजार, तृतीय श्रेणीका अधिकृतले २ हजारदेखि ३ हजार, सुब्बासरहले १ हजारदेखि २ हजारसम्म दिएका छन्। तल्लो तहका कर्मचारीले न्युनतम ५ सय रुपैयाँ दिएको कर्मचारी बताउँछन्। माओवादीले स्वेच्छिक चन्दा भने पनि कर्मचारीले जबर्जस्ती गरेको आरोप बताएका छन्। 'सुरुमा ८ हजार रुपैयाँ मागेका थिए, त्यत्रो रकम दिन सक्दैनौँ भनेपछि बार्गेनिङ गर्दा २ हजार रुपैयाँमा झर्‍यो, जिल्ला शिक्षा कार्यालयका एक अधिकृतले भने- अन्तिम लडाईँ हो। ख्याल गर्नुस् नत्र...? भनेपछि दिनैपर्‍यो।' कर्मचारीहरु चन्दा दिएकोबारे खुलेर बोल्न चाहँदैनन्।

अघिल्लो महिना नेकपा एकिकृतबाट नेकपा माओवादीमा प्रवेश गरेका एक जिल्ला नेताले भने- 'पहिला हामी (एकिकृतमा छँदा) जाँदा २ सय दिन नमान्ने कर्मचारीले अहिले २ हजार रुपैयाँ सजिलै दिएका छन्।' गाविस सचिवहरुलाई जिल्ला विकास समितिमा हुने गाविस सचिवको मासिक बैठकमा नै गएर रकम दिन पत्र थमाएका थिए।'अब हामी फेरिफेरि रकम उठाउन आउँदैनौँ। यो अन्तिम युद्धका लागि हो भन्दै पाराले दबाब दिएका छन्- एक गाविस सचिवले भने।

एकिकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज पारसमणिले जनताको पार्टी भएकाले स्वेच्छिक चन्दा सङ्कलन गरेको बताए। 'जनताको पार्टी हो , विभिन्न कार्यक्रम गर्न जनताले नै सहयोग गर्छन्'- उनले भने।

यसै साता सुरु भएको पैसा उठाउने अभियान तीब्र छ। बिहीबारसम्म जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, मालपोत, नापी, खानेपानी तथा सरसफाई डिभिजन, कृषि, डिभिजन सहकारी, घरेलुलगायतका करिव एक दर्जन कार्यालयमा उठाएका छन्। अन्य कार्यालयमा पनि सङ्कलन गर्ने काम जारी रहेको माओवादी स्रोतले जनाएको छ।

ताराखोलामा प्रशिक्षण
यसैबीच माओवादीले जिल्लाको ताराखोला गाविसमा युद्धको पूर्व तयारी भन्दै राजनीतिक र शारीरिक प्रशिक्षण सुरु गरेको छ। राजनीतिक प्रशिक्षण माओवादी नेता र शारीरिक तथा हतियार प्रशिक्षण अयोग्य लडाकुले दिइरहेका छन्। प्रशिक्षणमा जिल्लाका करिब २ सय युवायुवतीको सहभागिता रहेको माओवादीले जानकारी दिएको छ।

माओवादीले भने यसलाई नेकपा एकिकृत र माओवादीबीचको एकतापछि राजनीतिक प्रशिक्षण भनेको छ। जिल्ला सेक्रेटरी पारसमणिले राजनीतिक प्रशिक्षणमात्र भएको बताए। 'अहिले हामी सङ्गठन सुदृढीकरण अभियानमा छौं, त्रसित हुनुपर्ने अवस्था छैन, जिल्लाका विभिन्न क्षेत्रमा वैचारिक प्रशिक्षण दिने हाम्रो अभियान हो'- उनले भने । (नागरिकन्यूज)

0 comments: