मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, April 26, 2010

प्रधानमन्त्रीले राष्ट्रिय सहमति माग्ने

राजेन्द्र फुयाल काठमाडौ, वैशाख १३ - सत्तारुढ दल एमालेले राजनीतिक गतिरोधको अन्त्य र राष्ट्रिय सहमतिका लागि 'विशेष प्रयास' थाल्ने निर्णय गरेको छ । स्थायी कमिटीको आइतबार बसेको बैठकले प्रमुख विपक्षी माओवादीलाई घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्दै प्रमुख दलहरूसँग तत्काल वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

संविधान जारी गरिसक्नुपर्ने जेठ १४ को समयसीमा र माओवादीले घोषणा गरेको आन्दोलन नजिकिंदै गर्दा सरकारको नेतृत्व गरेको एमालेले प्रमुख दलहरूबीच सहमतिको आधार खोज्ने निर्णय गरेको हो । उसले दलहरूको बैठकमा शान्ति, संविधान र राष्ट्रिय सरकारका विषयमा पार्टीका तर्फबाट सहमतिमा आधार प्रस्तुत गर्ने गृहकार्य पनि गरेको छ ।

बैठक स्रोतका अनुसार प्रधानमन्त्री माधवकुमार नेपालले तीन दलको बैठक गरी साझा सहमतिको प्रस्ताव माग्ने छन् । 'सम्भवतः उहाँले शान्ति, संविधान र सरकारमा दलहरूको सहमतिको प्रस्ताव माग्नुहुनेछ,' एक पदाधिकारीले भने- 'यो सरकार सहमतिको बाधक बन्दैन ।'

पार्टी उपाध्यक्ष एवं रक्षामन्त्री विद्या भण्डारीका अनुसार बैठकले शान्ति, संविधान र शक्ति बाँडफाँडका विषयमा मुख्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । 'सही निकासका लागि एमालेले पहल गर्छ,' बैठकपछि उनले संवाददाताहरूसँग भनिन्- 'यसका आधारहरू तयार हँुदैछन् ।' सहमतिका आधार संवैधानिक र संस्थागत हुने उनले बताइन् । दलहरूबीच माओवादी लडाकु र हतियार व्यवस्थापन कसरी गर्ने, कस्तो संविधान जारी गर्ने र राष्ट्रिय सहमतिको सरकार कसरी बनाउने भन्ने विषयमा कुराकानी हुने उनको भनाइ छ ।

महासचिव ईश्वर पोखरेलले राजनीतिक निकासबारे पार्टीले खेल्ने भूमिकाबारे बैठकमा छलफल भएको बताए । बैठकले राष्ट्रिय सहमतिका लागि विशेष प्रस्ताव गर्ने बताए पनि त्यसभित्र के-के पर्छन् भन्ने बताउन

चाहेनन् । 'भोलि/पर्सिसम्म पर्खनुहोस्, देख्दै जानुहुन्छ,' उनले संवाददाताहरूलाई भने । उनका अनुसार मंगलबारसम्म तीन दलको बैठक बस्नेछ ।

बैठकमा माओवादीद्वारा घोषित आन्दोलन र देशभर सुरु गरेको 'सैन्य तालिम' बारे छलफल भएको थियो । 'सत्ता कब्जाको उद्देश्यले भइरहेका' माओवादीका पछिल्ला क्रियाकलाप बृहत् शान्ति सम्झौता, लोकतान्त्रिक मूल्य-मान्यता र सहमतिको

संस्कृतिविपरीत भएको बैठकको ठहर छ । बैठक स्रोतका अनुसार नेताहरूले माओवादी आन्दोलनमा राज्यले अपनाउनुपर्ने सतर्कता र सहमतिको प्रयासबारे छलफल गरेका थिए ।

महासचिव पोखरेलका अनुसार बैठकले माओवादीलाई घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । 'माओवादीले आन्दोलनका नाममा जोरजबर्जस्ती चन्दा संकलन, स्कुल र घर खाली गराउने कार्य र विद्रोहका हिसाबले गरिरहेको तयारी तत्काल बन्द गर्नुपर्छ,' उनले भने, उनले

शान्ति र सहमतिका लागि माओवादीले 'द्वैध सैनिक संरचनाको' अन्त्य गर्न ठोस कदम चाल्नुपर्ने बताए । 'तर यो कुरा व्यवहारमा हुनुपर्छ,' उनले भने, 'यसपटक हामी कपाली तमसुक मान्नेवाला छैनौं ।' -(इकान्तिपुर)

0 comments: