दीपक विष्ट, तेक्वान्दो वर्ष-२०६६ मा सर्वाधिक चर्चामा रहने खेलाडी हुन्- दीपक विष्ट । दक्षिण एसियाली खेलकुद (साग) मा लगातार चार स्वर्ण जितेर उनले नयाँ क्षेत्रीय कीर्तिमान कायम गरे । ढाकामा १५-२६ माघमा भएको ११ औं संस्करणमा चौथो स्वर्ण चुमेका दीपक यो उपलब्धि हासिल गर्ने दक्षिण एसियाकै पहिलो खेलाडी हुन् । त्यसले यी ३३ वर्षीय खेलाडीलाई नेपाली खेलकुदको इतिहासमा सर्वाधिक सफल खेलाडीका रूपमा स्थापित गर्यो । छनौट चरण पार गरेर बेइजिङ ओलम्पिक खेलेका दीपकले एसियाली खेलकुदमा पनि २ कांस्य हात जितिसकेका छन् ।
पारस खड्का, क्रिकेट
ऐतिहासिक उपलब्धिका रूपमा नेपालले वल्र्ड क्रिकेट लिग डिभिजन-५ को उपाधि फागुनमा जित्यो । घरेलु भूमिमा हात पारेको जितले सिनियर राष्ट्रिय टिमको असफलताको यात्रामा पनि पूर्णविराम लगायो । सिनियर टिमलाई पहिलोपल्ट च्याम्पियन बनाउने क्रममा कप्तान पारस खड्का नायक रहे । उनी बल र ब्याट दुवैमा जमे । लामो समय नेपालको कप्तानी सम्हालेका विनोद दासलाई विस्थापित गर्दै नेपाली टिमको कमान्डमा सम्हालेका २३ वषर्ीय पारसले नेपाललाई ऐतिहासिक उपाधि दिलाउँदै डिभिजन-४ मा उकाले ।
अनिल गुरुङ, फुटबल
अनिल गुरुङ सर्वाधिक चर्चित् नेपाली फुटबल खेलाडी रहे । पोखरेली स्ट्राइकर अनिलले भारतीय क्लब सिलोङ लाजोङसँग ६३ लाख ६० हजार रुपैयाँको तीनवर्षे सम्झौता गरेका छन् । कात्तिक महिनामा भएको अनुबन्धले उनलाई सर्वाधिक महँगा नेपाली खेलाडी बनाएको छ । फेडरेसन कप तथा इके नयनर अल इन्डिया गोल्डकपमा उत्कृष्ट प्रदर्शन गर्दै उनले लोजोङलाई फाइनल पुर्याएका थिए । आई लिगमा पनि यी २२ वर्षीय खेलाडीको प्रदर्शनको प्रशंसा भैरहेको छ । लाजोङको अफर स्वीकार गर्नुअघि अनिलले बेलायती क्लब वोकिङमा ३ महिना बिताए । ट्रायल पास गरेपनि 'वर्क परमिट' नपाएपछि उनी सिलोङतर्फ लागेका हुन् ।
राजेन्द्र भण्डारी, एथलेटिक्स
राजेन्द्र भण्डारी ईख लिएर खेल्ने मेहनती खेलाडीका रूपमा परिचित छन् । डोपिङ टेस्टमा असफल भएपछि उनले चार वर्षअघि दसौं सागका दुई स्वर्ण मात्र गुमाएनन्, दुई वर्ष खेल्नै नपाउने गरी प्रतिबन्ध पनि बेहोरे । त्यसपछि उनी ३३ वर्षे उमेरमा पनि खेलमा फर्किए । मध्यम दूरीका स्पर्धा परिवर्तन गरेर म्याराथन सुरु गरेका भण्डारीले ११ औं सागमा स्वर्ण जितेर सफल पुनरागमन गरे । घरेलु प्रतियोगितामा पनि उनले एकपछि अर्को सफलता आत्मसात् गरिरहेका छन् ।
आङबाबु शेर्पा, उसु
सिन्धुपाल्चोकको इचोक-१ मा जन्मिएका आङबाबुले ११ औं सागमा स्वर्ण जित्ने क्रममा दक्षिण एसियाली कीर्तिमान पनि कोरेका छन् । पूर्णांक २० रहेको प्रदर्शनी खेल थाउलुको थाइची छ्वान ओभरअल स्पर्धामा उनलाई निर्णायकले १९ अंक दिएका थिए । उसुमा यति अंक पाउनु दुर्लभ मानिन्छ । आङबाबुले पाएको अंक दक्षिण एसियामा अहिलेसम्मकै सर्वाधिक हो । (साप्ताहिकबाट)


0 comments:
Post a Comment