मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, April 21, 2010

माओवादीद्वारा खुकुरी तालिम

लीलाबल्लभ घिमिरे हात्तीमुढा (मोरङ), वैशाख ८ - मध्याह्न १२ बजेको टन्टलापुर घाम । रातो पोसाकमा सजिएका युवायुवतीका हातमा खुकुरी छ । जीउ पसिनाले निथ्रुक्क भिजेको छ । कमान्डरको आदेशमा सबैले एकसाथ आवाज निकाले- हा..हे..हुस् । र, फुर्तिलोसँग खुकुरी नचाए ।

'यस्तो आवाज आओस् कि जमिन उठिरहेको छ जस्तो लागोस्,' आदेश दिंदै कमान्डर चिच्याए । सबैले ठूलो आवाज निकाल्दै खुकुरी नचाए । नजिकै गाउँले, महिला तथा केटाकेटी टुलुटुली हेरिरहेका थिए । लाग्थ्यो- कुनै सैन्य मैदान हो ।

दृश्य मंगलबार हात्तीमुढा गाविसस्थित चौरको हो जहाँ १०५ माओवादी 'आत्मरक्षा दस्ता' तालिम लिइरहेका थिए । 'लाठी र खुकुरी चलाउन मात्र सिकाइरहेका छौं, आवश्यक परे त्योभन्दा माथिल्लो तालिम लिन पनि तयार छन् यी दस्ताहरू,' तालिम प्रमुख अमनले भने ।

'तालिम ज्यामितीय ढंगले अगाडि बढ्छ, जेठ १४ भित्र संविधान नबन्ने देखिएकाले सहरबाट गाउँ पसेका हौं,' उनले थपे, 'तालिम अबको आन्दोलनका लागि हो, आन्दोलनमा सहभागी व्यवस्थापन गर्न र दमन भए प्रतिकार गर्न दस्ता तयार पारेको हो ।'

माओवादीले अहिले सुनसरी, मोरङ र झापाका २२ स्थानमा एकसाथ तालिम थालेको छ । तीन जिल्लामा ५ हजारभन्दा बढी १८ देखि ४० वर्ष उमेर समूहका युवायुवती तालिममा सहभागी छन् । 'पहिलो चरणमा १० दिने भनिए पनि आवश्यकता हेरी यसलाई बढाइने छ,' अमनले भने ।

मोरङमा मात्र सातवटा 'आर्क' बनाई तालिम दिन थालिएको छ । जिल्लामा हाल १ हजारको संख्यामा पार्टीका कार्यकर्तालाई तालिम दिइँदै छ । नयाँ इच्छुक भए तिनलाई पनि सामेल गर्ने उनले बताए ।

सहभागीलाई खान बस्न पनि प्रबन्ध छ । हात्तीमुढा तालिम केन्द्रका लागि सय केजी दाल र ५ सय केजी चामल स्थानीय बासिन्दाले सहयोग गरेको उनले बताए । माआवादीले विगतमा बहुराष्ट्रिय कम्पनीको विरोध गर्दै आएको हो । तर तालिममा सहभागी माआवादीले बहुराष्ट्रिय कम्पनीको उत्पादन काल्र्सबर्ग बियर लेखिएका राता टिसर्ट र हाफपाइन्ट लगाएका थिए । चाउचाउ, लत्ताकपडा, जुत्ता जस्ता बन्दोबस्तीका सामानहरू सहयोगमा प्राप्त भएको अमनले बताए । 'हामी अन्तिम लडाइँका लागि तयार छौं,' उनले भने, 'जनताले हामीलाई मर कि गर भनिरहेका छन्,' उनले थपे ।

महेन्द्र मोरङ क्याम्पसमा बीए दोस्रो वर्षमा अध्ययनरत प्रदीप नेपाली नयाँ संविधान नबनेसम्म घर र्फकने सोचमा छैनन् । 'प्रतिगामीले जालझेल गरेर संविधान बन्न नदिए युद्ध लड्नका लागि तयार छौं,' उनले भने । विराटनगर ६ का रविन राजवंशी पनि तालिम लिइरहेका छन् । 'अब केही गर्नुपर्छ भन्ने लागेर तातो घाममा पनि तालिम लिन आएको' उनले बताए ।

माओवादी जिल्ला कमिटीका कार्यवाहक इन्चार्ज सुशील तालिम फौजी नभई प्रतिरक्षाका लागि भएको बताउँछन् । भने, 'हाम्रा विरुद्ध षड्यन्त्र भए छोड्दैनौं ।'

इटहरी संवाददाताका अनुसार पूर्वका विभिन्न जिल्लामा अर्धसैनिक दस्ता तयार गरी गाउँगाउँमा प्रशिक्षण तीव्र पारिएको छ । अन्तिम विद्रोहको नारा दिएर माओवादीले टोलटोलमा सुरक्षा दस्ता गठन गरी सुनसरी, मोरङ र धनकुटाका पहाडी क्षेत्रमा सैन्य प्रशिक्षण जारी राखिएको स्रोतले बतायो । जातीय समूह र अयोग्य लडाकुलाई आकषिर्त गर्न दुई महिनायता अर्धसैनिक सुरक्षादस्ता गठन पूर्वमा तीव्र बनाएको छ । विस्तृत शान्ति सम्झौताविपरीत दस्ता तयार गरेको समाचार र अनमिनसमेतले चासो व्यक्त गरेपछि एमाओवादी सुनसरीले अर्धसैनिक दस्ता नभई 'संगठन विस्तारको काम तीव्रमात्र पारेको' प्रतिक्रिया दिएको छ ।

पार्टी केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीले हतियार त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादीले संगठन विस्तार गर्दा शंकाको दृष्टिले हेर्न नहुने बताए । पार्टी सुनसरी सेक्रेटरी मुकेशले युवा दस्तालाई पार्टीमा सक्रिय बनाउन संगठन विस्तार मात्र भइरहेको उल्लेख गरे ।

मकवानपुरमा पनि हेटौंडा संवाददाताका अनुसार अन्तिम लडाइँ भन्दै माओवादीले कार्यकर्तालाई युद्ध तालिम दिएको छ । १६ वर्षदेखि ५० वर्षसम्मका महिला पुरुषलाई जिल्लाको चार स्थानमा गत शनिबारदेखि तालिम दिइएको छ । तालिममा लाइनमा राखेर बाँसको लाठी चलाउन सिकाइएको छ । मकवानपुरको १ र ३ नम्बर निर्वाचन क्षेत्रको हर्नामाडी गाविसको बिरुवाडाँडामा तालिम सञ्चालन गरिएको छ । त्यहाँ माओवादीले आफ्नो सेना राखेको थियो ।

२ नम्बर निर्वाचन क्षेत्रको सुकौरा गाविस र ४ नम्बर निर्वाचन क्षेत्रको आग्रा गाविसको डाँडावासमा पनि तालिम दिएको जिल्ला सेक्रेटरी इन्द्रबहादुर परियार (नयन) ले बताए । जनतालाई सुरक्षा प्रदान गर्न र लडाइँमा सुरक्षित रहन तालिम सञ्चालन गरेका हौं,' उनले भने । सबै गरेर हजार जना तालिममा सहभागी छन् । तालिम क्षेत्रमा अनुमति नलिई कसैलाई पनि प्रवेश दिइएको छैन ।
(इकान्तिपुरबाट)

0 comments: