मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, April 23, 2010

'विश्व सम्पदा क्षेत्र जोखिममा'

भक्तपुर-, वैशाख ८ - विश्व सम्पदा क्षेत्र संरक्षण अभावमा जोखिममा रहेको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् । विश्व सम्पदा दिवसका अवसरमा चाँगुनारायण मन्दिरमा आयोजित कार्यक्रमका उनीहरूले यस्तो चासो व्यक्त गरेका हुन् ।

कार्यक्रमका वक्ताले नेपालमा सूचीकृत सम्पदाको संरक्षण स्थानीयवासीलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए । यसपालि विश्वभर 'कृषिको सम्पदा' नाराका साथ दिवस मनाएका छन् । नेपालमा चाँगुनारायणमा यससँग सम्बन्धित व्यक्ति, संघसंस्था, सरकारी निकायलाई भेला गराएर अन्तरक्रिया गरिएको थियो ।

संरक्षणकै कारण उपत्यकाको सात सम्पदा क्षेत्र जोखिममा रहेको संघका अध्यक्ष ऋद्धिबाबा प्रधानले बताइन् । सबैभन्दा बढी जोखिम चाँगुनारायण मन्दिर रहेको उनले बताइन् । मन्दिरको तलतिर प्लानिङ र बालुवा निकाल्ने कार्य अझै नरोकिएकाले जोखिममा रहेको उनले बताइन् । 'खोलामा बालुवा चोरी कार्य नरोके चाँगुनारायण जोखिममा छ, भासिसकेको छ,' उनले भनिन्, 'चाँगुको संरक्षण गर्न नसके अन्य ठाउँसमेत विश्व सम्पदा सूचीबाट हट्ने छ ।' अन्य स्थानमा पनि युनेस्कोले निर्धारण गरेको मापदण्ड विपरीत कार्य भइरहेको उनले जानकारी दिइन् । बौद्ध र स्वयम्भूमा अग्लो अग्लो घर बनेको उनले बताइन् । उपत्यकामा चाँगुनारायण, पशुपति मन्दिर, स्वयम्भू, बौद्ध, हनुमानढोका, भक्तपुर र पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । अधिकांश स्थानमा युनेस्कोको मापदण्ड उल्लंघन गरेको छ ।

कार्यक्रममा संस्कृति मन्त्रालयका सचिव प्रमोदकुमार कार्कीले सम्पदा क्षेत्रको संरक्षण नहुँदा उजाड बनेको बताए । उनले चाँगुनारायण मन्दिरको अवलोकन गर्दा रङरोगन नभएको, शिलालेख स्पष्ट नदेखिएको, मन्दिर जाने बाटो मर्मतमा ढिलाइले सम्पदाको संरक्षण हुन नसकेको बताए । 'यो सम्पत्ति हाम्रो मात्र होइन, विश्वको हो,' उनले भने, 'सरकार र विदेशीको मुख ताकेर हुँदैन, स्थानीयवासीले संरक्षण गर्नुपर्छ ।' पर्यटन वर्षको तयारी भइरहँदा सम्पदा क्षेत्रको सुधार हुन नसके पर्यटन वर्ष सफल पार्न नसक्ने उनले बताए । संस्कृति नीतिको अभावले सम्पदाको संरक्षण र अनुसन्धान गर्न नसकेको उनले स्वीकार गरे । नीति ल्याउने तयारी भइरहेको उनले बताए ।

त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका प्रमुख विना पौडेलले सम्पदाको संरक्षण र प्र्रचार गर्ने कार्य सबैको जिम्मेवारी भएको बताइन् ।

चाँगुनारायण जीर्णोद्धारमा ढिलाइबजेट छुट्याएको वर्ष दिन सकिन लाग्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर जीर्णोद्धार हुन सकेको छैन । जीर्णेद्धार नहुँदा बजेट फ्रिज हुने अवस्थामा पुगेको छ ।

मन्दिर जीर्णोद्धारका लागि पुरातत्त्व विभागले १९ लाख रुपैयाँ विनियोजन गरेको थियो । आर्थिक वर्ष सकिन लाग्दा पनि टेन्डर प्रक्रियासमेत सुरु भएको छैन । ठेक्कामा नदिई उपभोक्तालाई जिम्मा दिएर मर्मत कार्यको लागि सम्झौता हुन बाँकी रहेको पुरातत्त्व विभागअन्तर्गतको स्मारक कार्यालय प्रमुख अरुणा नकर्मीले जानकारी दिइन् ।

यस वर्ष मन्दिरको पहिलो र दोस्रो तलाको झिँगटीले छाएको छाना, दोस्रो तला छानामा झल्लर र भित्रको गारो मर्मत गर्न लागेको हो । भित्रको गारोसमेत जीर्णोद्धार गर्ने भएकाले टेन्डर प्रक्रियामा नगई उपभोक्तालाई दिन सम्झौता मात्र बाँकी रहेको उनले बताइन् । 'मन्दिरभित्र भडेलबाहेक जान मिल्दैन,' उनले भनिन्, 'त्यसैले उपभोक्तालाई दिन लागेको हो ।'

मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायको संयोजकत्वमा उपभोक्ता समिति गठन भइसकेको छ । मन्दिर जीर्णोद्धारका लागि २० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । सरकारले विनियोजन गरेको रकमको १० प्रतिशत उपभोक्ताले खर्च गर्ने नकर्मीले बताइन् । जीर्णोद्धार कार्य ढिलाइ नहुने उनले बताइन् । 'अर्को हप्तामा उपभोक्तासँग सम्झौता हुन्छ,' उनले भनिन्, 'सम्झौता भएको एक हप्तापछि काम सुरु हुन्छ ।'

वषर्ात सुरु भएपछि पानी चुहिने भएकाले त्यसअघि नै काम सुरु गर्नुपर्ने पुजारीले बताए । 'बेलैमा मर्मतकार्य नगरे यस आर्थिक वर्षमा सकिँदैन,' पुजारी राजोपाध्यायले भने, 'जतिसक्दो चाँडो काम गर्नुपर्छ ।' मन्दिरको बेलैमा मर्मतकार्य नहँुदा दोस्रो तल्लामा पानी चुहिने समस्या रहेको उनले बताए ।

मन्दिर जाने एक सय आठ सिंढी र भीमसेन मन्दिरको जीर्णोद्धार कार्य सुरु भइसकेको छ । भीमसेन मन्दिरका लागि चार लाख रुपैयाँ र सिंढी मर्मतका लागि नौ लाख रुपैयाँ विनियोजन भएको थियो । दरबार तथा स्मारक हेरचाह कार्यालयले मन्दिर संरक्षण गर्दै आएको छ । (इकान्तिपुरबाट)

0 comments: