मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, April 23, 2010

असहमतिको आगो : खगेन्द्र संग्रौला

त्यो एउटा बिछट्टको संयोग थियो र थियो एउटा भयावह अनिष्टको आरम्भ पनि। यता राजधानीमा माधव सरकार बन्दै थियो, उता पश्चिम नेपालको विकट र विपन्न पहाडी भेगमा झाडापखाला र हैजा फैलिँदै थियो।

जताततै हारेर पनि के के न पाएँ र के के न भएँ भनेर माधवका भुइँमा खुट्टा थिएनन् । परमानन्दको त्यो दिव्य घडीमा माधवलाई व्याधीपीडित नागरिकको उति वास्ता भएन। त्यसैले त नागरिकलाई कालको मुखेन्जी छाडिदिएर उनी निश्चिन्त मुद्रामा इजिप्टको कायरोतिर हान्निए। उनका स्वास्थमन्त्री जर्मनीका गल्लीमा हल्लिँदै झन्डै उतै हराए। माधव सरकारको संवेदनशून्यता, बेवास्ता र ढिलासुस्तीका कारण व्याधिपीडित सयौँ नागरिकहरूको ज्यान अनाहकमा गयो।

माधव सरकार अझै गद्दीमा छँदैछ। र, अहिले व्याधि फेरि दोहोरिएको छ। छापा भन्छ- तेह्रजना नागरिकको त ज्यानै गइसक्यो! अब कतिको के गति हुने हो कसलाई थाहा? द्वन्द्वहरू छिप्पिएर युद्धको आगो उर्लिन लागेको यस घडीमा व्याधिपीडित नरनारीको जीवनरक्षा गर्ने कार्य कसको पो प्राथमिकता होला र?

प्रधानमन्त्री माधवका कोही एकजना भौतिक योजना तथा निर्माण मन्त्री छन्। ती को हुन् दुनियाँलाई थाहा छैन। कारण जनजीवनको सुखदुःखमा तिनको उपस्थिति कहीँ कतै लेसमात्र पनि छैन। भर्खरै थाहा भयो, यस मन्त्रालयले व्याधिपीडित भेगमा चर्पी बनाउन रकम छुट्याएको रहेछ। वर्ष दिन बित्यो। यसबीच चर्पी निर्माणको नाउँमा एउटा सिन्कोसम्म पनि भाँचिएनछ। माधवका कोही एकजना स्वास्थमन्त्री पनि छन्। ती को हुन् दुनियाँ तिनलाई चिन्दैन।

जनजीवनको दैनिकीमा तिनको पनि उपस्थिति कहीँ छैन। व्याधिपीडित भेगमा फाट्टफुट्ट स्वास्थ्यचौकी छन्। तर, त्यहाँ न मनग्गे स्वास्थ्यकर्मी छन् न त ओखतीमुलो नै छ। प्रधानमन्त्री आफ्नै कुर्सीको स्वास्थ्य रक्षामा मग्न छन्। र, उनका स्वास्थ्यमन्त्री मस्त छन् आफ्नै देह र पदको स्वास्थ्य रक्षामा। ठीकै हो, आफू र आफ्नो कुर्सी रहे न जगत् रहन्छ। आफू र आफ्नो कुर्सीरहित नाथे जगत् पनि के जगत्!

हो, तिलस्मी माधव सरकारको उदय भएथ्यो झाडापखाला र हैजासँगै। र, माधव सरकार झाडापखाला र हैजा छाडेरै शेष हुने भयो। घातक कीटाणुजन्य झाडापखाला र हैजाको अभिशाप थियो नै।

माधव सरकार राजनीतिक झाडापखाला र हैजासमेत फैलाएर तुरिने भो। निकम्मा माधवले केही गरेनन् भनी फत्तुर लाउने जति पनि छन्। तर, म भन्छु- यो दमहीन फत्तुर हो। प्रधानमन्त्रीको आसनमा विराजमान भई राजनीतिक झाडापखाला र हैजा फैलाउनु थोरै ठट्टा हो? यो हैजाले अब छिटै नै तीव्र द्वन्द्वको रूप धारण गर्ला। र, सके यस रक्तरञ्जित र शोकग्रस्त भूखण्डमा अर्को भीषण युद्ध नै होला। यत्नसाथ द्वन्द्वका जरामा मलजल हाल्नु र युद्धलाई आमन्त्रण गर्नु माधव सरकारको सानोतिनो योगदान होइन।

मावधमा प्रधानमन्त्री बन्ने क्रोनिक तृष्णा थियो। मर्मज्ञले मर्म बुझे। र, संसारभरिका दक्षिणपन्थी धुरिएर माधवलाई आफूले भनेको मान्ने र दिउन्जेल खाने सर्तमा प्रधानमन्त्री बनाए। बन्नु के थियो बरा माधवका सहस्र दुःख सुरु भइहाले। कुर्सी ताक्ने अहारिसेको बिगबिगी छ। कुर्सी पलप्रतिपल हल्लिरहन्छ। नपाउनेले पाएको केरा हो।

केरा जसरी हुन्छ जोगाउनु छ र बोक्रैसित खानु छ। अहो! कतिजना मालिककहाँ धाउनु? कतिजनाका अगाडि निहुरिनु? इँइँ मिमी गर्दै कतिजनालाई कति दिन रिझाउनु? कुद्दाकुद्दै, निहुरिँदा निहुँरिदै र हात मल्दामल्दै माधवको सारा समय स्वाहा भयो। अनि केको अमनचैनको सुव्यवस्था होस्? अनि केको शान्ति र संविधानको सहजीकरणमा ध्यान पुगोस्? अनि केको संवाद र सहमतिको मेसो मिलोस्? बिहान उठ र चौतर्फी चाकरीमा कुद। बेलुका सुत र रातैपिच्छे चाकरी सिरियलका सपना देख। माधवलाई यतै आतुरी छ, उतै धामा छ।

कार्टुनरूपी माधव सरकारका दिनगन्तीसँगै राजनीतिमा संवाद र सहमतिको पोयो सायद कसैगरी नजोडिने गरी छिनेको छ। लाग्छ, अबलाई सहमति फगत भन्ने कुरा हो, गर्ने कुरा त्यो होइन। आफ्नै नेतृत्वमा सरकार बने कांग्रेसलाई सहमति स्वीकार्य छ, अन्यथा माधव सरकारै प्रिय छ। आफ्नै नेतृत्वमा सरकार भइदिए माओवादीलाई सहमति मान्य छ, नत्रभने प्रकारान्तरले माधवै सरकार ठीक छ। बरा दुखिया एमालेका के कुरा गर्नु! ऊ छिनमा खुट्टा टेकेर उभिन्छ, छिनमा घुँडा टेकेर घस्रिन्छ, छिनमा मुन्टो टेकेर लाजमर्नु तमासा प्रदर्शन गर्छ।

उसको न विचारको आकार छ न बोलीको टुंगो छ न अडानमा तालमेल छ। अनि मधेशी दलहरू? कतिपय मधेशी दल सत्तामा गए र प्रधानमन्त्री माधवलाई ब्रह्मा, विष्णु, महेशादि त्रिदेव मानेर उनैका चरणमा उतै विलीन भए। लाग्छ, दल यिनका लागि केबल सत्तामा उक्लिने भर्‍याङ हो र सत्ता हो हरमूल्यमा जागिर खाने र खाइरहने थलो। यिनलाई शान्ति र संविधानको टुंगो लगाउन सहमतीय सरकार चाहिएकै छैन। यिनका लागि त प्रातःस्मरणीय माधव सरकारको सहमतीय विकल्प माधवै सरकार हो। बस्, सहमति सबैका लागि जप्ने कुरा हो। गर्ने कुरा हो कलह, द्वन्द्व र युद्ध। यो कुरूप अभीष्टका लागि परिस्थिति दिनानुदिन परिपक्व भइरहेछ।

एमाले रक्षामन्त्री विद्यादेवी भण्डारीले सैनिक भर्तीको स्वीकृति दिइन्। एमालेका कांग्रेसी प्रधानमन्त्री माधवले ठुटे जुँगा मुसार्दै मौन सम्मति प्रदान गरे। र, बाइस दलका दाज्यैज्यूहरूले प्रसन्न मुद्रामा थप्पडी बजाए। मानौँ यो एउटा पुनीत कर्म हो। शान्ति सम्झौताका निष्प्राण अक्षरहरू यिनका लागि अर्थहीन ठहरिए। सर्वोच्चको आदेश यिनका लागि फगत कागतको खोस्टो हुनगयो। यिनका लागि अनिवार्य, पवित्र, प्रिय र पूज्य बन्यो युद्ध, युद्ध र युद्ध। विद्रोही माओवादी त यसै पनि विद्रोही भइहाल्यो।

यता भर्तीका माध्यमले युद्धको ढोका खोलिँदै गर्दा उता माओवादी खुकुरी कसरतमा तल्लीन थियो। खुला डबलीमा, खुलेआम, भीडीओ क्यामेरालाई दृश्यचित्र प्रदान गर्दै । नेपाली सेना बाईस दलका मुखियाका आतंकित चित्तको शरणस्थल बन्दो छ। र, बाहुबली अभ्यासमा माओवादी आफ्नो अकल्पित, अविदित र अनिश्चित भविष्यको रहस्यमय चित्र कोरिरहेको छ। मानौँ अब राजनीतिको निकास युद्ध र फगत युद्धद्वारा नै निर्क्योल हुनेछ। दुवैतिरका बाहुबलीहरू भीडन्तको तयारीमा जोडतोडको प्रतिस्पर्धामा छन्। यो उत्तेजना र यो उन्मादसामु शब्द निस्तेज भएको छ, तर्क निरीह भएको छ र युक्ति अबाक् भएको छ।

प्रकृतिमा बसन्त ऋतु आएको छ। बसन्त ऋतुको गर्भमा असिनाको पर्रा छ, आँधीको वेग छ, बिजुलीको नृत्य छ र चट्याङको थर्को छ। र, नेपाली राजनीति बसन्तकालीन राप र तापबाट उत्तेजित भइरहेछ। यो नेपाली राजनीतिको हलचलकारी याम त यसै पनि हुँदै हो। सहमतिको अवसानपछिको रिक्ततामा अब द्वन्द्व र युद्धको ताण्डव देखिएला।

अनि नतिजा के होला? पूर्वानुमान गर्न गाह्रो छ। द्वन्द्व र युद्धका जो कर्ता हुन्, सके तिनलाई पनि आफ्नो कर्मको सम्भावित नतिजाको अत्तोपत्तो नहोला। जजसले जेजस्तो कर्म गरेका छन्, तिनले त्यस्तै नतिजा त भोग्नै पर्ला। विचार, तथ्य, तर्क र युक्तिको सहाराले जगत्सँग क्रियाप्रतिक्रिया गर्ने हामी नागरिकसँग इतिहासको पेटीमा उभिएर द्वन्द्व र युद्धको साक्षी बस्नुसिवाय अब के नै पो बाँकी रहला र?

0 comments: