प्रेम सापकोटा, बुडापेस्ट-
म तीन दिनदेखि हंगेरीको बुडापेस्टको फेरीहेगी विमानस्थलमा अड्केको छु। आइसल्याण्डमा ज्वालामुखी विष्फोटपछि निस्केको खरानीले यूरोपको आकाश ढाकेपछि म यो विमानस्थलमा अड्केको हुँ। म जस्तै हजारौं मानिस अहिले यहाँका अडि्कएका छन् ।
ओपन सोसाइटी इन्स्टिच्युट अर्न्तगतको युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन अप्रिल ९ मा बुडापेस्ट पुगेको थिए ।न्यू मिडिया र पपुलिज्मको विषयमा भएको कार्यक्रममा करिब ४० देशका युवा सहभागी थिए। मैले नेपाली रेडियो विशेषगरी सामुदायीक रेडियोको विषय बस्तुमा कार्यपत्र प्रस्तुत गरेका थिए। अप्रिल १० देखि १६ सम्म कार्यक्रम चल्यो। त्यसयता सधै उडानको प्रतिक्षामा छुँ।
बुडापेस्टबाट फ््रयाङ्कफर्टसम्म मालाभ हंगेरियन एयरलाइन्स र फ्रयाङ्कफर्टबाट कतार एयरवेज मार्फत काठमाडौं जाने कार्यक्रम थियो। नियमिति उडान भएको भए म आइतबार बिहान नै काठमाडौं आइपुग्थे। तर, हरेक दिन उडानको प्रतिक्षा गर्नेवाहेक अन्य विकल्प यहाँ छैन।
अहिले यहाँ सोही कार्यक्रममा आएका मात्रै १२ देशका नागरिकहरू म जस्तै उडानका प्रतिक्षामा छन्। कार्यक्रम सहभागी हुन आएका यूरोपेली राष्ट्रका केही साथीहरु रेलबाट आफनो देश फर्किएपनि अमेरिका, जर्मनी, मंगोलिया, कीर्गिजस्तान लगायत १२ देशका हामी सहभागीहरू वुडापेष्टमै वस्न वाध्य छौं। रोमानियाको एउटा साथी १६ घण्टाको रेल यात्रा पछि आज बिहान मात्रै घर पुगे जसको ई-मेल खवर भर्खरै प्राप्त गरे। इस्टोनियाका साथी ६ घण्टा सम्म रेल्वे स्टेशनमा प्रतिक्षा गरेपछि आज मात्रै आफनो देशतर्फ लागेका छन्। अहिलेसम्म पुगे/नपुगेको थाहा छैन। जर्मनी हिडेका केही साथी रेलबाट बुडापेस्ट छाडे पनि बाटोमा अलपत्र परेका छन्। कारण, रेल परिवर्तन गर्ने स्थानमा उनीहरूले टिकट पाएनन् र ेजसको खवर हामीलाई पनि पठाएका छन्। यसरी कार्यक्रममा आएका साथीहरूको खवर बुझनु र जाने विकल्पवारे सोच्दैमा युरोपका दिनहरू वितिरहेका छन्।
यूरोपेली देशका मानिसका लागि रेल सेवा विकल्पको रूपमा समाधान भए। तर, अमेरिका,एसिया लगायतका स्थानका हामी सहभागीहरूलाई त्यो विकल्प संभव छैन। त्यसरी नेपाल आउने हो एक महिनामा पुगिदैन होला। यहाँका रेलयात्रा पनि निकै भीडभाड छ। भिसाको ठूलै समस्या हुन्छ।
अहिले म आयोजकले व्यवस्था गरेको बुडापेस्टको एउटा होटलमा छु। बस्ने व्यवस्था आयोजकहरुले गरिदिएका छन्। खानाको पैसा आफैले तिर्नु पर्छ। एक छाक खानाका लागि १० देखि १५ डलरसम्म लाग्छ। म सँग अझै केही दिनका लागि पुग्ने पैसा छ। आयोजकहरुले कति दिनसम्म होटलको रकम तिर्ने हो थाहा छैन। कार्यक्रम सकिनु अघि नै यो समस्या आएकाले बासको व्यवस्था गरिएको हो। विमानस्थलमा बस्ने अन्य मानिसको अवस्था भने निकै दयनीय छ।
यहाँ भाषा र भिसाका समस्या छ। बिमान रोकिएको कारण अलपत्र परेकाहरुलाई भिषा थप्नका लागि आइतबार एउटा स्थान तोकेको थियो। तर त्यहाँ पुग्दा कर्मचारीहरु भेटिएनन्। स्थानीय भाषा बोल्न जान्नेले सहयोग गरेपछि बल्ल बल्ल कर्मचारीलाई भेट्यौं। मैले पनि अप्रिल २७ सम्मका लागि भिषाका समय थपेको छु ।
अहिले ल्याएको लुगा मैलो भैसक्यो। लुगा धुन पनि समस्या छ। कति दिन वस्नुपर्ने, केही थाहा छैन। लन्ड्रिमा लुगा धुन दिएर पैसा खर्च गर्ने भन्दा खानाका लागि पैसा जोगाउनु पर्ने अवस्था छ, त्यहाँ रहेका मानिसहरूलाई।
मैले टिकट काटेको एयरलायन्सले सेवा रद्द गरेको भन्ने वाहेक केही जानकारी दिएको छैन। एयरलाइन्स त्यति सहयोगी छैन। उनीहरुनै अन्यौलमा देखिन्छन्। बिमानस्थलमा एयरलायन्सका मानिस भेटिन्नन्। उनीहरुको बेवसाइटमा उडान रद्द भएको जानकारी मात्रै छ। धेरै यात्रीहरुको उडान रद्द भएकाले ट्राभल बिमाको रकम नपाउने चिन्ता पनि यहाँ प्रतिक्षारत यात्रुहरूमा देखिन्छ।
बेलायत सरकारले विभिन्न स्थानमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश फर्काउन २ वटा पानी जहाजको व्यवस्था गरेको छ। नेपाली कहाँ कति अलपत्र परेका छन् भन्ने हाम्रो सरकारलाई थाहा छ जस्तो लाग्दैन। सरकारले केही गर्ला भन्ने आश पनि छैन।
यता बसाइको क्रममा नेपाल भ्रमण गरेका केही मानिससँग भेट पनि भयो। उनीहरु नेपालमा चीनका प्रभाव छ होला भनेर सोच्दा रहेछन्। माओवादीका गतिविधि र अन्य राजनीतिक घटनाक्रमको बारेमा केहीले जिज्ञासा पनि व्यक्त गरे।
एक सय वर्ष अघि त्यो ज्वालामुखीले १४ महिनासम्म खरानी फालेको थियो रे। यसपटक हेरौं, कहिलेसम्म यसले खरानी फाल्ने हो र यता अलपत्र परेर बस्नु पर्ने हो। त्यो थाहा छैन। अहिले भने चाँडै देश फर्कने दिनको प्रतिक्षामा बुडापेस्टमा बसी रहेको छु। (नागरिकन्यूजबाट)
Wednesday, April 21, 2010
विमानस्थल बन्द हुँदाको सास्ती
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment