मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, April 24, 2010

माओवादीले मार्ने धम्की दिएपछि चार एमाले कार्यकर्ताले गाउँ छोडे

कलेन्द्र सेजुवाल, सुर्खेत, वैशाख १०- माओवादीले जहाँ भेट्यो त्यहीँ मार्छौं भनेर धम्क्याएपछि घाटगाउँका चार एमाले कार्यकर्ताले गाउँ छाडेका छन्। उनीहरु बाबियाचौरमा आफन्तको घरमा शरण लिएर बसेका छन्। घाटगाउँ गाउँ कमिटी अध्यक्ष नन्दराम खनाल र स्थानीय कार्यकर्ता धर्म खनाल, हरि खनाल र तारा देवकोटा बिहीबार राति २ बजे बाबियाचौर पुगेका हुन् ।

माओवादी कार्यकर्ताले मार्ने धम्की दिएपछि गाउँ छोडेर हिँड्नुपरेको हरिले बताए। 'जहाँ भेट्यो त्यहीँ मार्छौँ भनेपछि गाउँमा कसरी बस्ने ?' उनले नागरिकसँग टेलिफोनमा भने। माओवादी कार्यकर्ताले बिहीबार नै आफ्नो र नन्दरामको पसलमा तोडफोड गरी धनमाल नष्ट गरेको पनि उनले जानकारी दिए।

यता एमाले जिल्ला कमिटीले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आफ्ना कार्यकर्ताको जीउधनको सरक्षा, घाइतेको निःशुल्क उपचार र दोषीमाथि कारबाहीको माग गरेको छ। जिल्ला कमिटी उपाध्यक्ष शिवप्रसाद उपाध्यायले अहिले पनि त्यहाँ डरत्रासको स्थिति कायमै रहेकाले सुरक्षा व्यवस्था मजवुत गर्न सरकारसँग माग गरे।

स्थानीय प्रशासनले भने अवस्था सामान्य हुँदै गएकाले घाटगाउँमा खटाइएका सुरक्षाकर्मी फिर्ता भएको जनाएको छ। 'त्यस्तो डरलाग्दो अवस्था छैन भन्ने रिपोर्ट आएकाले त्यहाँ गस्ती टोली खटाएर अरु सुरक्षाकर्मीलाई फिर्ता बोलाएका छौँ'- प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाँले बताए।

एमाले र माओवादी कार्यकर्ताबीच बुधबार साँझ भएको झडपपछि बिहीबार बिहानै माओवादी कार्यकर्ताले एमाले जिल्ला कमिटी सदस्य मोहन बडुवाल र धीरबहादुर शाहीमाथि आक्रमण गरेका थिए। उनीहरुको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

0 comments: