अनमोलमणि पौडेल काठमाडौ, वैशाख १२ - निजी विद्यालयले शुल्क बढाएको विरोधमा माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीले विद्यालयमा भौतिक आक्रमण सुरु गरेको छ । बढेको शुल्क फिर्ता माग गर्दै क्रान्तिकारीले निजी विद्यालयमा जबरजस्ती प्रवेश गरेर आक्रमण गरेको हो ।
आक्रमणबाट दर्जनौ विद्यालय र विद्यालयका सवारी साधनमा क्षति पुगेको छ । केही सञ्चालकलाई समेत उनीहरुले भौतिक आक्रमण गरेका छन् । प्याब्सनले साठी भन्दा बढी विद्यालयमा आक्रमण भएको दावी गरे पनि क्रान्तिकारीले आफ्नो आहृवान 'अवज्ञा' गर्ने केही विद्यालयमामात्रै आक्रमण भएको भन्दै दावीको खण्डन गरेको छ ।
क्रान्तिकारीको भौतिक आक्रमणबाट देशभरका करिब ८ हजार निजी विद्यालय सञ्चालक त्रासमा छन् । क्रान्तिकारीले आइतबारदेखि आम हड्ताल घोषणा गरेकाले विद्यालय सञ्चालकहरु उच्च माध्यमिक र उच्च शिक्षाका विद्यार्थीका लागि सवारी चलाउने नचलाउने दोधारमा छन् । निजी विद्यालय हड्तालबाट करिब १५ लाख विद्यार्थी र तिनका अभिभावक प्रभावित भएका छन् ।
क्रान्तिकारीले वैशाख ६ गतेदेखि गरेको लेखा शाखाको तालाबन्दीका कारण विद्यालयमा कुनै पनि आर्थिक गतिविधि हुन सकेका छैनन् । नया शैक्षिक सत्रको भर्ना अवधीमै निजी विद्यालयले बन्दको मार खेप्नु परेको छ । तालाबन्दी र हड्तालका कारण केही विद्यालयले पहिलो सातादेखिनै सुरु गरेकेा पढाइ पनि प्रभावित भएको छ । अधिकांश विद्यालयमा विद्यार्थी भर्ना नभइ सकेकाले अभिभावक गर्ने नगर्ने दोधारमा छन् । शिक्षा मन्त्रालयले भने यसबारे कुनै चासो लिएको छैन ।
विद्यालयल सञ्चालकले निजी विद्यालयमाथिको आक्रमणको निन्दा गरेका छन् । निजी विद्यालयहरुको संगठन प्याब्सन अध्यक्ष राजेश खडििाले विद्यार्थी संगठन बालकालिका र शिक्षाजस्तो समवेदनशिल क्षेत्रप्रति जिम्मेवार नदेखिएको बताए ।
'केही विद्यालय शुल्क बढाएको निहुमा सबैमाथि आक्रमण हुनु न्यायसंगत छैन, बढाएकालाई नियमसंगत कारबाही गर्नु पर्छ विद्यार्थीको पढ्न पाउने अधिकार हनन गर्न पाइन्न', उनले शनिवार कान्तिपुरसित भने, 'पार्किङ गरिएका विद्यालयका गाडी जलाइएका छन्, सञ्चालकमाथि आक्रमण भएको छ, लोकतान्त्रिक मुलुकमा यो व्यवहारिक कुरा होइन । अरुको स्वतन्त्रतालाई क्रान्तिकारीले ख्याल गरेकेा देखिएन ।'
सञ्चालकहरुले विद्यालयमाथिको प्रहारलाई राजनीतिक घटनाक्रमको निरन्तरका रुपमा लिएका छन् । 'सरकारसितको लडाइमा निजी विद्यालयलाई पारिएको छ', प्याब्सन सल्लाहकारसमेत रहेका लिटिलएन्जेल्स स्कुलका पि्रन्सिपल उमेश श्रेष्ठले भने, 'भातृसंगठन लेखा शाखामा तालाबन्दी गरेर विद्यालय हड्ताल गर्छन्, माओवादी नेताहरु आफ्ना छोराछोरी भर्ना गर्न दिनदिनै दवाब दिन्छन् । निजी विद्यालय बन्द अभियानमा लागेका क्रान्तिकारीले आफ्ना नेताहरुलाई छोराछोरीलाई निजीमा नपढाउ भन्ने अभियान सुरु गर्नसक्छन् ।'
प्याब्सन र एनप्याब्सनले प्रतिकुल परिस्थिति रहेकाले हड्तालमा विद्यालय र विद्यालयका सवारी सञ्चालन गरेर जोखिन नलिन सदस्य विद्यालय सञ्चालकलाई अनौपचारिक निर्देशन दिएका छन् । निजीमाथिको आक्रमण बढे अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने तयारीमा पनि उनीहरु लागेका छन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले शुल्क नबढाएका विद्यालयका प्रशासन खोल्न दिने तर पठन पाठन हुन नदिने बताए । 'निजी विद्यालय नाफाका लागि चलेका हुन्, तिनले व्यापार गरे गरेनन् हाम्रो चासोको विषय होइन । हाम्रो नजरमा ती सबै निजी हुन्', उनले भने, 'कुन घाटामा छ, कुन नाफामा छ, कसले कम शुल्क लिएको छ र कसले बढी लिएको छ त्यसको वर्गीकरण गर्ने काम हाम्रो होइन । राज्यले गर्नुपर्छ ।'
उनले उच्च माविका विद्यार्थी बोक्ने सवारी र पढाइमा कुनै अवरोध नपुर्याउने बताए । 'विद्यालयमा भौतिक आक्रमणको कुनै निर्देशन केन्द्रीय समितिले दिएको छैन । विावाद गर्नेहरुकोमा केही समस्या आएको हो', उनले भने, 'पदीय हैसियत प्रयोग गरेर माओवादी नेताहरुले छोराछोरी निजीमा पढाएको बारे हामीले पार्टीमा नैतिक प्रश्न उठाएका छौं, कुन नेताका छोराछोरी कहा कसरी पढिरहेका छन् निजीले सार्वजानिक गरिदिए हामीलाई थप सहयोग हुन्छ ।'
अभिभावकका संगठनले पनि विद्यालय बन्द हड्ताल फिर्ता लिएर संवादका माध्यमबाट समस्याको निकास निकाल्न सरोकारवालालाई सुझाव दिएका छन् । 'आक्रमणले कसैको भलो हुदैन, लाखौ विद्यार्थीले पढ्न नपाउदा त्यसको मार अभिभावकलाई पर्छ', नेपाल अभिभावक संघका महासचिव वामदेव गौतमले भने, 'हामीले पढाउन पैसा तिरेका छौँ, पढ्न नपाउदा स्कुले विद्यार्थी राजनीतिक आन्दोलनमा लागे भने त्यसको क्षति अभिभावकले बेहोर्नु पर्छ ।' उनले यसमा सचेत रहन सबैलाई आग्रह गरे । (इकान्तिपुर)
Sunday, April 25, 2010
क्रान्तिकारीद्वारा विद्यालयमा आक्रमण/आजदेखि निजीमा पठनपाठन ठप्प
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment