केदार ओझा
काठमाडौं, वैशाख ८ - सशस्त्र विद्रोहको आरोप लागेका ५४ सुरक्षाकर्मीमध्ये ४४ ले सफाइ पाएका छन् । दस जनालाई भने पाँच वर्ष कैदको फैसला भएको छ । 'सशस्त्र प्रहरी विशेष अदालत' ले मंगलबार उक्त फैसला गरेको हो ।
विद्रोहका क्रममा प्रत्यक्ष आक्रमण गरेको स्विकार्नेलाई मात्रै कैद सजायको निर्णय भएको छ । नेपालगन्जको वागेश्वर गणका ४० मध्ये ३३ ले र पर्वत जिल्लामा रहेको चण्डिका गणका १४ मध्ये ११ जनाले सफाइ पाएका छन् । वागेश्वरको सात र चण्डिका तीन जनालाई पाँच वर्ष सजायको फैसला भएको छ । सजाय पाएका मध्ये चारजना फरार छन् ।
रासन राम्रो नभएको भन्दै शमशेरगन्जको वागेश्वरी गणमा २०६५ असार ७ गते र चण्डिका गण पर्वतमा असार ४ गते विद्रोह भएको थियो । दुई कार्यालयमा विद्रोह भए लगत्तै बलले एक विशेष टोली गठन गरी देशभरिको रासन व्यवस्थामा सुधार गरेको थियो ।
सशस्त्र प्रहरी बल मातहतको दुवै घटनाको निष्पक्ष जाँच गरी फैसला गर्न नायव महान्याधिवक्ता प्रेमराज कार्कीको अध्यक्षतामा डीआईजी प्रकाश ओझा र गृह मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका सहसचिव प्रेमकुमार राई सम्मिलित विशेष अदालत गठन भएको थियो ।
'सशस्त्र विद्रोहको माग दाबी पुग्न नगएकाले घेरैले सफाइ पाए,' निर्णयकर्तामध्ये एकले भने, 'जेल सजाय पाएकाहरूले माथिल्लो अधिकारीलाई कुटपिट, हातपात र कार्यालय तोडफोड मात्रै गरेको तथ्य र प्रमाण भेटिएकाले सोही आधारमाबमोजिम फैसला गरिएको हो ।'
विद्रोहको अभियोगमा निलम्बनमा परी जेलमा रहेका मध्ये सफाइ पाएकाको तत्कालै जागिर पुनर्बहाली हुने छ । पुर्पक्षका लागि उनीहरू हाल ललितपुरको नख्खु, केन्द्रीय कारागार सुन्धारा र डिल्लीबजार चारखाल जेलमा छन् ।
उनीहरूलाई सशस्त्र प्रहरी बलले विद्रोहको आरोपमा सर्वस्वसहित जन्म कैदको माग दाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो । 'जिम्मेवारीमा रहे वा नरहेका बेला आफूभन्दा माथिल्लो दर्जाको कर्मचारी हो भन्ने थाहा पाउँदापाउँदै वा थाहा पाउने मनासिव कारण हुँदा हुँदै हातपात वा कुटपिट गरेमा' सशस्त्र प्रहरी ऐनमा पाँच वर्षदेखि सात वर्ष जेल सजायको व्यवस्था छ ।
पाँच वर्षको जेल सजायका लागि फैसला भएकामा शमशेर गणका हवल्दार त्रय बलबहादुर थापा, वसन्त उप्रेती र रामकुमार राय, चण्डिका गणका हवल्दरद्वय राकेश सिंह ठकुरी, दीपक रौनियार र जवान जनकबहादुर विष्ट छन् ।
हाल फरार असई राजु हमाल, हवल्दार एकराज शाह, जवान गंगाबहादुर शाही र किरणसिंह ठकुरीलाई पनि पाँच वर्ष सजाय तोकिएको छ । पाँच वर्ष सजाय पाएकाले फैसलामा चित्त नबुझे पुनरावेदनका लागि सर्वोच्च अदालतमा जान सक्ने छन् ।
(कान्तिपुरबाट)
Tuesday, April 20, 2010
बिद्रोह गर्ने ४४ लाई सफाइ/दसलाई ५ वर्ष जेल
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment