होम कार्की
महिला कामदारका लागि वैदेशिक रोजगारीको सन्दर्भ उठ्नेबित्तिकै कानी शेर्पाको नाम अगाडि आइहाल्छ । सन् १९९८ मा घरेलु कामदार बनेर कुबेत पुगेकी सिन्धुपाल्चोककी कानी शेर्पा अरबी मालिकको यौन दुव्र्यवहार तथा यातनाबाट पीडित थिइन् । निकै अस्वस्थ बनेपछि उपचारार्थ स्थानीय अस्पतालमा राखिएका बेला उनले झ्यालबाट हामफालेर आत्महत्या गरिन् । स्थानीयको मिलेमतोमा जमिनमुनि पुरिएको उनको शव झिकेर काठमाडौं ल्याएपछि सिंहदरबारभित्रको संसद परिसर पनि निकै तातेको थियो ।
त्यो घटनापछिको आमआक्रोशका कारण सरकारले महिला कामदारलाई खाडी मुलुकमा घरेलु काम गर्न जान प्रतिबन्ध लगायो । वैदेशिक रोजगार ऐन-२०६४ लागू भएपछि कानुनतः लैंगिक विभेदको अन्त्य गर्दै महिलाले समेत वैदेशिक रोजगारीमा जान पाउने मार्ग प्रसस्त भयो तर खाडी तथा मध्यपूर्वी लेबनानमा (लेबनान खुल्दै र बन्द हुँदै आएको मुलक हो) महिला कामदारका लागि प्रतिबन्ध भए पनि ती देशहरूमा हाउसमेड भिसामा जाने महिलाहरूको ताँती रोकिएको छैन ।
उनीहरू भारतीय नाकाबाट मात्रै होइन स्वदेशी विमानस्थलबाट पनि जाने गरेका छन् । सरकारको अनुमतिबिना त्यसरी गएका हाउसमेड कामदार साउदीमा मात्रै ६३ हजार, कुबेतमा २५ हजार र लेबनानमा ८ हजार रहेको अनुमानित तथ्यांक छ । यी बाहेक संयुक्त अरब इमिरेट्स -युएई), ओमान र बहराइनमा पनि उल्लेख्य महिला छन् । त्यसरी गैरकानुनी बाटोबाट ती मुलुकमा पुगेर शारीरिक, मानसिक र श्रम शोषण बेहोर्दै पीडित भएका उनीहरू शरण र उद्धारका निम्ति दूतावास वा आसपासका संघ-संस्थामा पुग्नेहरूको संख्या बढ्दो छ । कतिपय महिला कामदार त पीडा सहन नसकेर आत्महत्या गरिरहेका छन् । कूटनीतिक र द्विपक्षीय सम्बन्ध विस्तारमा लागिपर्नु जरुरी रहेका बेला पनि दूतावासको अधिकांश समय भने उद्धारमै बित्ने गरेको छ । हाउसमेडका विकराल समस्या देखेका कूटनीतिक निकायहरूले सरकारलाई सधै एउटै कुरामा ध्यानाकर्षण गराइरहेका हुन्थे- 'छिमेकी देशबाट जाने नेपाली महिलालाई रोक्नुपर्यो । त्यसका लागि कूटनीतिक पहलबाट भारतीय बाटोमा कडाइ गरेपछि मात्रै नियन्त्रणमा ल्याउन सकिन्छ ।'
यस्ता समस्या दिनहुँ बढेपछि श्रम मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई 'नेपालको श्रमस्वीकृति नलिई वैदेशिक रोजागरीमा जाने महिलालाई तेस्रो मुलुक जान नदिनु' भन्ने विवरणको पत्र पठायो । यही पत्रका आधारमा भारत सरकारले मुख्य नाका दिल्लीमा कडाइ गरिरहेको छ तर राजदूतहरूले भनेअनुसार काम हुँदा पनि हाउसमेड भिसामा जाने महिलाहरूको लहर थामिएको छैन । फरक यति भयो, पहिले भारतबाट महिला उडाउने दलालले अहिले त्रिभुवन विमानस्थलबाटै उडाउने गरेका छन् ।
कुबेतका लागि नेपाली राजदूत मधुवन पौडले भन्छन्- 'अहिले त्रिभुवन विमानस्थलबाटै घरेलु काममा महिलाहरूलाई यता उडाइरहेको दृश्य देख्नुपरेको छ ।' दलालले खाडी मुलुकमा महिला पठाउन 'भिजिट भिसा' को सहारा लिएका छन् । यो माध्यमबाट 'घुमघामका लागि' भन्दै उड्नेहरू सबैभन्दा बढी कुबेत पुगेका देखिन्छन् । राजदूत पौडेलका अनुसार अहिले दैनिक २०/३० नेपाली महिलाहरू त्रिभुवन विमानस्थलबाटै कुबेत पुगिरहेका छन् ।
यसरी जाने बारेमा श्रम, गृह र परराष्ट्रका अधिकारीलाई जानकारी नभएको भने होइन । 'खाडी मुलुकमा महिलाहरू घुम्न होइन, काम गर्न जान्छन्' भन्ने उनीहरूलाई राम्रै थाहा छ । यी तीनै मन्त्रालयका उच्च अधिकारीको झन्डै तीन साता अगाडि बसेको बैठकले नक्कली कागजात बनाएर स्वदेशी विमानस्थलबाट महिलालाई अवैध रूपमा खाडी क्षेत्रमा पठाउने प्रवृत्ति बढेको ठहर गरेको थियो । यसलाई रोक्न तीनै निकायबीच समन्वयकारी काम गर्ने, भिजिट भिसाको औचित्यबारे दूतावासको धारणा माग्ने लगायत निर्णय गरेको थियो तर निर्णयको तीन साता बितिसक्दा पनि यी निकायहरूबीच तालमेल भएको देखिँदैन ।
सरकारी अधिकारीहरू अहिले 'कस्ता व्यक्तिले भिजिट भिसा प्रयोग गर्छन्' भन्ने दूतावासको जबाफ पर्खेर बसिरहेका छन् । विमानस्थलका अध्यागमन अधिकारीहरू भन्ने गर्छन्- 'भिजिट भिसामा जो पनि घुम्न पाउने कानुनी व्यवस्था छ । अनुहार हेरेर कसैलाई रोक्न र कसैलाई पठाउन मिल्दैन ।' लेबर डेस्क र अध्यागमन अधिकारीको दलालसँग मिलेमतो छ भन्ने आरोपको खण्डन गर्न पनि ती निकायले त्यसरी जाने महिलाहरूलाई विमानस्थलमै रोक्न सक्नुपर्छ । होइन भने, परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीको बुझाइमा 'लेबर डेस्क र अध्यागन विभाग भनेको महिलाहरू बेच्न पठाउने अधिकारप्रदत्त निकाय हुन् ।'
Thursday, April 22, 2010
भिजिट भिसामा 'हाउसमेड'
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment