दीपक सापकोटा
'आकाश यसैगरी खुला होस्, फेरि कालो बादल मडारिए नमज्जा हुन्छ’
बिहानैको कलिलो घाममा बागबजारमा सडक नाप्दै गर्दा भेटिए कवि अर्जुन पराजुली । देशमा गणतन्त्र ल्याउन भनी हिँडेकाहरूको अघिल्लो पंक्तिमा लेखनाथे दाह्री र पाँच गिलास पानी तन्काएर कविता कुर्लने यी कवि अहिले के सोच्दै होलान् ? देशको यो अवस्था देखेर खुसी छन् त ?
'म खुसी छैन,' हास्यकविले अहिलेको देशको माहोललाई संकेत गर्दै बोले, 'जनआन्दोलनको सम्झना र अहिलेको माहोलले म निकै दुःखी भएको छु । अहिलेको दुरवस्था देखेर खुसी हुनेहरू देशलाई फेरि पछाडि फर्काउन चाहने तत्त्व मात्रै हुन् ।'
पराजुली तिनै हुन् जो ऐतिहासिक अपि्रल क्रान्तिमा आजका कतिपय नेताभन्दा अघि हिँड्थे, सडकमा कविता सुनाएर लोकतान्त्रिक भीडको वाहवाही लुट्थे ।
गणतन्त्र आइसकेको छ, अब के चाहियो त तपाईंलाई ? 'शान्ति,' पराजुलीले भने, 'हामीकहाँ शान्ति भड्केको धेरै भयो । गणतन्त्रपछि पनि शान्ति पाइएन ।' शान्ति सबैलाई चाहिएको छ । सबै नेपालीलाई अहिले उनीहरूलाई के चाहिएको छ भनी सोधेमा शान्ति या स्थायी शान्ति भन्ने उत्तर आउनेछ ।
'जनताले देखिसके १५ हजार मान्छे मरेका,' उनले भने, 'हाम्रो जनआन्दोलनले जनताको शासन त आयोे, तर युगौँदेखि हामीले चाहेको शान्ति आएन ।' अर्जुन पराजुलीको सम्झनामा पटक-पटक आयो जनआन्दोलन ।
उसवेला पूर्वराजाले नागरिक अधिकार अपहरण गर्दा धेरै कवि/स्रष्टा सडकमा ओर्लिएका थिए । स्रष्टाहरू हातेमालो गर्दै सडकमा उत्रिएका थिए- स्वतन्त्रताको खोजीमा । हो, त्यसै आन्दोलनले प्रसिद्धिको चरमचुलीमै पुर्याएको थियो, कवि अर्जुन पराजुलीलाई । प्रतिगमनविरुद्धको सडक आन्दोलनमा आफ्नो ज्यान हत्केलामा राखेर जनताको मनमा भएका उकुसमुकुसलाई कविताका भाकामा उनेर बोलेका थिए, उनले । वेला न कुवेला कविता भन्ने भटमासेहरू देख्नेबित्तिकै तर्कन्थे मान्छेहरू । तर, अर्जुन पराजुली त्यसवेला पनि आन्दोलनको 'हट-केक' बनेका थिए ।
१९ दिने जनआन्दोलनका वेला १४ गते टुँडिखेलमा आमसभा थियो । वयोवृद्ध नेता गिरिजाप्रसाद कोइरालाले बोल्नुपर्छ भन्ने जनताको माग थियो । तर, गिरिजा त्यहाँ आउन असमर्थ भए । र, अर्का नेता सुशील कोइराला मञ्चमा गएर बोल्न थाले । त्यसवेला जनताको भीड भड्कियो र नाराबाजी सुरु भयो । धेरै नेताले त्यस भीडको आक्रोश र होहल्ला शान्त पार्न सकेनन् । अनि निस्किए नेपथ्यबाट अर्जुन पराजुली र सबैलाई प्रतिगमनविरुद्धको कविता सुनाए । तीमध्येको एउटा कविता यस्तो थियो-
एउटा रोगी गोली खान नपाएर मर्यो
एउटा निरोगी गोली खाएर मर्यो
मैले आफूलाई न रोग लाउन सकेँ
न निरोगी बनाउन सकेँ
त्यसैले अहिलेसम्म जिउँदै छु
अन्ततः झन्डै लाखौँको संख्यामा आएका जनताको भीड पनि शान्त भयो । 'नागरिक भएर नेपाललाई राजतन्त्रबाट मुक्त गर्न केही मात्रामा भए पनि साथ दिएँ,' उनले भने, 'यस कुरामा मलाई गर्व छ, मित्र !' राजतन्त्र समाप्त पार्न भूमिका खेल्ने हरेक नागरिकले यसमा गर्व गर्नुपर्छ भन्छन्, अर्जुन पराजुली ।
जनआन्दोलनपछि आएको गणतन्त्रप्रति पनि उनी साह्रै असन्तुष्ट छन् । 'मान्छेको जिन्दगीमा परिर्वतन आएको छैन,' उनले सुनाए, 'मात्र गणतन्त्र आयो शान्ति आएको छैन ।'
प्रगतिशील साहित्य रुचाउने पराजुली साहित्यलाई चेतनाको बाटो भएको बताउँछन् । 'साहित्य जीवनसँग नजोडिएको मलाई मन पर्दैन,' उनले भने, 'साहित्यमा समाज परिवर्तनको कुरा हुनैपर्छ ।'
कुराकानीका क्रममा पराजुलीले धेरैपटक आन्दोलनका दृश्य सम्झिए । पराजुलीले जहाँ-जहाँ कविता सुनाए त्यहीँ-त्यहीँ 'वान्स मोर' पाए । जनताले नेताहरूका बासी भाषणभन्दा कविता रुचाए । 'कवितामा परिवर्तनप्रतिको आकांक्षा हुँदोरहेछ,' तिनले दार्शनिक पारामा दाह्री चलाउँदै भने । आन्दोलनका क्रममा भदौ २५ का दिन आयोजना गरिएको अर्जुन पराजुलीको 'सत्र साल भाग दुई' कविता कार्यक्रममा श्रोताले पराजुलीका कविता सय रुपैयाँको टिकट काटेरै सुनेका थिए । हल भरिएपछि आधाजति श्रोतालाई त त्यसै फर्काउनुपरेको थियो अरे त्यसवेला ! र, श्रोताको तालीको गड्गडाहटबाट हौसिएका पराजुलीले त्यसैबाट संकलन भएको २० हजार रुपैयाँ लोकतान्त्रिक आन्दोलनलाई सुम्पिए । समाजको आँखामा सपना भर्ने लेखक-कविको संलग्नताले आन्दोलनको ज्वाला दन्किएको थियो । 'जनताको मनका अनुभूतिलाई कवितामा उतारेकाले नै मलाई रुचाएका हुन् जस्तो लाग्छ,' उनले भने ।
०२० सालतिर काभ्रेको ज्याम्दीमा जन्मेका थिए, अर्जुन पराजुली । उनलाई आफू सानै छँदा कविता लेख्ने रहर चल्थ्यो । 'तर त्यसवेला लेखेका कविता अहिलेका भन्दा बढी संवेदनाले भरिएका हुन्थे,' उनी भन्छन्, 'किनभने त्यसवेला गरिब र दीनदुःखीलाई शोषण गरेको देखेर कविता लेखिन्थ्यो ।' यसरी संवेदनामा बग्ने कवि ०३७ सालमा काठमाडौं आए र बढी खुल्न थाले कवितामा ।
काठमाडौं आगमन धेरैका लागि अवसरको ढोका भनिए पनि पराजुलीका लागि भने त्यस्तो हुन सकेन । उनी भौंतारिरहे यस अत्यासलाग्दो बाक्लो बस्तीमा । लाखौँ मानिसबीच एक्लै ठिंग उभिएको । र, निचोड फेला पारे, 'यो सहर धनीहरूका लागि हो ।' सहरको निचोराइमा थाकेको कविको मन विद्रोही स्वभावको थियो । अनि जन्मिए व्यंग्य कविता र थुप्रै लेख सहरका नममा अनि आफ्नै दुःखी समयको नाममा । यसरी व्यंग्यले भरिएका भावनाको संग्रह आयो बजारमा 'आन्द्रालोक' ०५४ सालमा ।
संग्रह बजारमा आएपछि भने कवि आफ्नै जीवन र जगत्मा फिरेका हुन् । 'साहित्यमा वितृष्णा कहिल्यै थिएन, तृष्णा अहिले पनि उत्तिकै छ,' उनले सुनाए, 'बरु जीवनको कुनै वेला देशमा आफूले भोगेको समयप्रति वितृष्णा जागेको थियो ।' त्यसवेला देशको शासन पूर्वराजाको हातमा थियो । उनले साहित्यमा सबैभन्दा बढी सिर्जना त्यसवेला गरेका थिए । 'त्यसवेला कविता देशलाई राजतन्त्रको चंगुलबाट मुक्त गर्न लेखियो,' उनले भने, 'कवितामा देशको पीडा हुन्थ्यो ।' खासमा अर्जुन मनमा पीडा भएपछि मात्र हास्यव्यंग्य लेख्छु, भन्छन् । 'म कविता र हास्यव्यंग्य रोएर लेख्छु ।' उनको हास्यव्यंग्य लेखन प्रक्रिया र विधि अरूभन्दा यसै मानेमा फरक रहेछ ।
यसरी धेरैबेर जनआन्दोलन र साहित्यका विम्बमा निकैबेर हराए कवि अर्जुन पराजुली । शिरमाथि उड्दै गरेको बादललाई देखेर उनले भने, 'आकास यसैगरी खुला होस्, फेरि कालो बादल मडारिए नमज्जा हुन्छ ।'
त्रिकोणाकार दाह्रीले उनलाई स्वप्नजीवी नै देखाउँछ । तर, यथार्थमा उनी पुस्तक प्रकाशक र व्यवसायी पनि हुन् । भुँडीपुराणका यी पुरेत बागबजारमा आफ्नै व्यवसायतिर लागिरहन्छन् । यसरी गुप्तवास बस्छन्, मानौँ कहिले आन्दोलनको मौसम आउँछ र खल्तीबाट कविता निकालेर भीडमा जाउँला भनेर पर्खिन्छन् ।
Saturday, April 24, 2010
लोकतन्त्र आयो, शान्ति आएन
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment