भवानीश्वर गौतम नयाँ पत्रिका काठमाडौं, ११ वैशाख विद्यार्थी संगठनको नेतृत्व विद्यार्थीले नै गर्नुपर्ने सामान्य मान्यता हो । तर, सबै विद्यार्थी संगठनको नेतृत्व विद्यार्थीले मात्र गरेका छैनन् । केही विद्यार्थी संगठनका नेता शिक्षक र सरकारी अधिकृतसम्म छन् ।
शिक्षण पेसामा लागेका नेविसंघका नेताहरू धेरै छन् । नेविसंघका कार्यवाहक अध्यक्ष प्रमोदहरि गुरागाई नै पेसाले शिक्षक हुन् । नेविसंघका उपाध्यक्ष ऋषिकेशजंग शाह पनि शिक्षक नै हुन् । नेविसंघकै केन्द्रीय सदस्य मधुकर खनालले पनि शिक्षक पेसा अँगालेका छन् ।
नेविसंघका कार्यवाहक अध्यक्ष गुरागाईंले काठमाडौंका तीनवटा कलेजमा पढाउँछन् । उनी त्रिभुवन विश्वविद्यालयको आंगिक सरस्वती क्याम्पसका करार शिक्षक हुन् । उनले समाजशास्त्र विषय पढाइरहेका छन् । त्यसैगरी उनले रेडन कलेज र दक्षिणढोकाको जय देवकोटा कलेजमा पढाइरहेका छन् ।
विद्यार्थी नेताले आफूहरू शिक्षण पेसामा संलग्न भएको खुलाउन चाहँदैनन् । तर, पढ्दा र पढाउँदाको अनुभव भने उनीहरू सुनाउँछन् । नेविसघका उपाध्यक्ष गुरागाईं भन्छन्, 'विद्यार्थी जीवनमा धेरै पढेजस्तो लाग्छ, तर पढाउँदा कुरा नबुझी परीक्षा दिए जस्तो लाग्छ ।' उनले शिक्षण पेसाबारे खुलेर कुरा गर्न भने चाहेनन् ।
नेविसंघका अर्का उपाध्यक्ष ऋषिकेशजंग शाह सल्यानका सरकारी स्कुलका शिक्षक हुन् । नेविसंघ स्रोतका अनुसार उनी बैठक वा संगठनको कामले काठमाडौं आउँदा सट्टामा शिक्षक राखेर आउने गरेका छन् । तर, उनले आफ्नो पेसा छाडेका छैनन् । संघका केन्द्रीय सदस्य मधुकर खनालले पनि राजधानीको हनुमानढोका कन्या माविमा पढाउँदै आएका छन् ।
विद्यार्थी नेताहरू पढाउँदैनन् मात्र, सरकारी जागिरमा समेत रहेका छन् । अनेरास्ववियुका सचिवालय सदस्य चूडाराज ढकाल विद्यार्थी राजनीति मात्र गर्दैनन् खोटाङका जिल्ला विकास समितिका योजना अधिकृतको पेसासमेत सह्मालिरहेका छन् । उनी करिब ६ महिनादेखि खोटाङको जिविस योजना अधिकृतका रूपमा कार्यरत छन् । अनेरास्ववियुका नेताहरू एक वर्षअघिसम्म शिक्षण पेसामासमेत संलग्न थिए । तर, अहिले उनीहरूले त्यो पेसा छाडेका छन् ।
विद्यार्थीको नेतृत्व गर्नेहरू शिक्षण वा अन्य पेसामा संलग्न हुनु अस्वाभाविक भएको विद्यार्थी नेताहरू नै बताउँछन् । 'विद्यार्थी राजनीति वर्गीय पनि हो । वर्गीय कुरा पनि उठाउनुपर्छ । अर्को पेसामा लागेकाले विद्यार्थीका समस्या बुझ्न सक्दैन ।' नेविसंघका उपाध्यक्ष भूपेन्द्रजंग शाही भन्छन्, 'कहिलेकाहीँ विद्यार्थी नै शिक्षकको विरुद्धमा पनि लाग्नुपर्छ ।'
Sunday, April 25, 2010
विद्यार्थी नेता शिक्षक र अधिकृत
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment