मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, April 25, 2010

राजीनामा नदिए सडकबाटै प्रधानमन्त्री फाल्छौं: बैद्य

१२ वैशाख, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य ‘किरण’ले प्रधानमन्त्री माधवकुमार नेपालले वैशाख १८ सम्म राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार गठनको बाटो नखोले सडक आन्दोलनबाटै ढाल्ने चेतावनी दिनुभएको छ ।
राजधानीमा आइतबार आयोजित साक्षत्कार कार्यक्रममा नेता वैद्यले सरकार हटाउन आम हडतालसहितका सशक्त आन्दोलनका कार्यक्रम तत्काल घोषणा गरेर मुलुक ठप्प पार्ने चेतावनी पनि दिनुभयो ।

उहाँले भन्नुभयो ‘अब हामी यो सरकारलाई विस्थापित गर्न आम हडतालको तयारीमा छौं । पार्टीमा त्यसका लागि सहमति भइसकेको छ ।’

प्रचण्डबाहेक अरु विकल्प दिए आफू राजीनामा दिन तयार रहेको भन्ने प्रधानमन्त्री नेपालको अभिव्यक्तिलाई उहाँले त्यसलाई पार्टी फुटाउने षड्यन्त्र भएको आरोप लगाउनुभयो ।

‘कुन पार्टीले कसलाई प्रधानमन्त्री बनाउँछ भन्ने कुरा त्यो पार्टीको आन्तरिक कुरा हो । त्यो माधव नेपालले भनेर हुने कुरा होइन,’ उहाँले भन्नुभयो ‘हाम्रो पार्टीले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । हामीले अहिले प्रचण्डको विकल्प सोचेका छैनौं । बाबुराम भट्टराई वा अरु नाम ल्याउनु हाम्रो पार्टी विभाजन गर्ने खेल हो । तर, हाम्रो पार्टीमा विकल्पै छैन भन्ने पनि होइन । हामी पार्टीभित्र छलफल गरेर जे पनि गर्न सक्छौं ।’ प्रचण्डकै नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार बन्ने उहाँको भनाइ थियो ।

आफूहरुको आन्दोलन शान्ति, संविधान र राष्ट्रिय संयुक्त सरकार गठनका लागि भएको भन्दै बैद्यले बाहिर प्रचार भए जस्तो नभई आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘हाम्रो आन्दोलन शहर केन्दि्रत हुन्छ र त्यो आन्दोलनले मुलुक ठप्प पारिदिन्छौं ।’

उपाध्यक्ष बैद्यले शान्ति र संविधान प्रति आफूहरुको प्रतिबद्धता दोहोर्‍याउँदै अहिलेको सरकार रहेसम्म संविधानसभाको म्याद थप्ने विषयमा छलफल नहुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘राष्ट्रिय सहमतिको सरकार बनाएपछि भने संविधानसभाको म्याद थप्न सकिन्छ ।’

उहाँले वर्तमान सरकार रहेसम्म नयाँ संविधान र शान्ति प्रक्रिया बन्नै नसक्ने ठोकुवा गर्नुभयो । बैद्यले भन्नुभयो ‘शान्ति र संविधान हाम्रो एजेन्डा भएकाले हाम्रै नेतृत्वको सरकार बने मात्रै त्यो कार्यभार पूरा हुन्छ ।’

यद्यपि उहाँले अहिले अल्पमत र बहुमतको कुरा गर्ने समय नभएकाले दलहरु नमिले कसैको हित नहुने यथार्थ बताउँदै सहमतिको आधारमै मुलुकलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । सहमतिको आधारमै अगाडि बढ्नुपर्छ तर माओवादीलाई बाइपास गरेर कसैले केही गर्न नसक्ने उहाँको भनाई थियो ।

अखिल क्रान्तिकारीले गरेको निजी विद्यालय बन्दको कार्यक्रमप्रति समर्थन गर्दै उहाँले भन्नुभयो ‘भातृ संगठनले गरेको कार्यक्रममा हाम्रो पूर्ण समर्थन छ । हामी यसमा हस्तक्षेप गर्न चाहँदैनौं ।’ (अनलाइनखबर)

0 comments: