काठमाडौं/ संविधानसभाको म्याद थप्ने विषयमा कांग्रेस सदस्यहरूबीच तीव्र मतभेद भएको छ । सदस्यहरूले म्याद थप्दा पनि संविधान बन्ने ग्यारेन्टी नहुने र म्याद नथपे संवैधानिक संकट आउने फरक-फरक धारणा राखे ।
केन्द्रीय समितिको शुक्रबारको बैठकमा अधिकांश सदस्यले संविधान बन्ने ग्यारेन्टी नभएसम्म म्याद थप्न नहुने बताए । केही सदस्यहरूले भने म्याद नथप्दा मुलुकमा थप संकट उत्पन्न हुने दाबी गरे ।
बैठकमा केन्द्रीय सदस्यहरू खुमबहादुर खड्का, गोविन्दराज जोशी, बलबहादुर केसी, चक्रप्रसाद बास्तोला, सुनीलकुमार भण्डारी, जिपछिरिङ लामा, इन्द्रबहादुर गुरुङलगायतले संविधानसभाको म्याद थप्दैमा संविधान बन्ने ग्यारेन्टी नहुने बताएका थिए । उनीहरूले संविधान निर्माण हुने आधार पेस नभएसम्म म्याद थप्न नहुने तर्क गरेका थिए ।
मनमोहन भट्टराई, महालक्ष्मी उपाध्याय, ज्ञानेन्द्रबहादुर कार्की, मीना पाण्डे, पुरुषोत्तम बस्नेतलगायतले भने संविधान निर्माणको अहिलेसम्मको प्रगतिबारे जनतालाई जानकारी गराएर म्याद थप्नुपर्ने धारणा राखेका थिए । उनीहरूले संवैधानिक संकट आउन नदिन म्याद थप्नुको विकल्प नरहेको तर्क गरेका थिए ।
बैठकमा सदस्यहरूले माओवादीको आलोचनासमेत गरेका थिए । सदस्य खड्काले पछिल्ला दिनमा माओवादीको अराजक गतिविधिले संविधानसभाको म्याद जति थपे पनि संविधान नबन्ने दाबी गरे । सदस्य जोशीले कांग्रेसका केही नेताहरूले माओवादीसँग मिलेर पार्टीलाई तहसनहस बनाएको आरोप लगाउँदै संविधान निर्माण हुने कुनै आधार नै नरहेको बताएका थिए । उनले दुई वर्षमा नबनेको संविधान म्याद थप्दैमा बन्ने ग्यारेन्टी नभएकाले आधार तयार पारेर मात्र म्याद थप्नुपर्ने बताए ।
बैठकमा सदस्य भट्टराईले माओवादी लडाकुको व्यवस्थापन गर्दै शान्तिप्रक्रियालाई पूर्णता दिन संविधानसभाको म्याद एक वर्ष थप्नुपर्ने बताएका थिए । उनले माओवादी हिटलरले जस्तै संवैधानिक बाटोबाट निरंकुश शासन ल्याउन खोजेको भन्दै सजग हुन नेतृत्वलाई आग्रह गरे । (नयाँ पत्रिका)
Saturday, April 24, 2010
कांग्रेसमा मतभेद
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment