दुर्गाबहादुर गुरुङ, न्यूयोर्क, अमेरिका : नेपाली समाचारहरु एकपटक फेरी विश्वका मिडियाहरुमा छाउन थालेका छन् । हाल संसारभरी छरिएर रहेका नेपालीहरुलाई विश्वव्यापीरुपमा प्रसारित नेपाली समाचारको बिषयमा कुनै विदेशी मित्रले प्रसङ्गवश जिज्ञासा राख्दा अनुहार रातो बनाउनु परेको तितो यथार्थ छ । त्यति मात्र नभई नेपाली भनेर परिचय दिन समेत अप्ठयारो महशुस भइरहेको छ ।
जलस्रोतको दोस्रो धनी देश नेपाल सर्वोच्च शिखर सगरमाथालाई काखी च्यापेर छुट्टै पहिचान बोकेको र शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल नेपाल हाल आएर ‘कुकुर नेता र भेडा जनता’ को चपेटामा फँसेर लाचारी र लज्जास्पद पीडा भोग्नु परिरहेको वर्तमान यथार्थ सबैका सामु छर्लङ्ग छ ।
चुल्होमा बाल्ने दाउरा छैन । ग्याँसको अभाव त्यस्तै छ । बिजुली बत्तिका तारहरुमा लोडसेडिङ नामक भाइरस लागेको छ । डिजल र पेट्रोलको अभावमा सडकमा गाडीहरु कुदेका छैनन् । गत १८ दिनको बन्द र हडतालले जनजीवन अझै कष्टकर बनेको छ । एक पछि अर्को गर्दै थोपरेको महङ्गीले नेपालीहरुको जनजीवन यति भयाभव भइसक्यो मानौं कुनैवेला रसिया विखण्डन भएको बेला रसियामा र खाडी युद्ध ताका इराकमा झोला भरीको पैसाले झोला भरीको समान किन्न नसकेको स्थिति जस्तो । त्यस्तो अवस्था नेपालमा आए कुनै अनौठो नमान्नुपर्ने हुन्छ ।
ईन्धन भर्न लाइनमा बसेका सवारी साधनहरु, ग्याँस, मट्टीतेल, र खानेपानीको लागि लाईनमा बसेका राजधानीबासीहरुको तस्विरहरु विश्वका चर्चित मिडियाहरुमा देखिंदा नेपाल बाहिर बस्ने हामी नेपालीहरुलाई नेपाली भन्न अप्ठयारो महशुस भइरहेको छ । यी यावत बिषयमा कुनै विदेशीले नेपालीको नाताले प्रश्न गरिहाले जवाफवीहीन हुनुपर्ने लाजमर्दो स्थिति छ ।
ईतिहासलाई फर्केर हेर्दा कुनै समय ब्रिटिसको संसारभरी साम्राज्य रहँदा पनि वीर पुरुषहरुले नेपालको स्वाधिनतालाई बचाइ राखेका थिए । कसैको पराधिन हुनु परेको थिएन । तर आज आˆनै घरभित्रको स्वाधिनबाट आक्रान्त छ नेपाल । हाम्रा वीर पुरुषहरुको बलिदान के यस्तै दिनहरु देख्नको लागि हो ? व्यक्तिगत लोभलालच, जताततै हत्या-हिंसा, आतंक, बन्दहडतालको राजनीतिले अब त आर्जित भइसक्यो । यस्तो घिनौना राजनीतिबाट कहिले पाठ सिक्ने र अभावै अभावको दलदलबाट देशलाई कहिले मुक्ति दिने ?
१०७ बर्ष राणाहरुले सत्ता लिप्साको मनोवृत्तिबाट नेपाल र नेपालीलाई चुसे । ततपश्चात ३० बर्ष पंचहरुले मनोमानी गरे । छयालिस सालमा प्रजातन्त्र आयो । निर्दलको सट्टा वहुदल शब्द संविधानमा राखियो र संवैधानिक राजतन्त्रको ढोंग गरियो । राजतन्त्रका आसेपासे र दलहरुका नेता, तिनका नातागोता वाहेक अरु कसैलाई प्रजातन्त्र आएन् । भ्रष्टाचार फष्टायो र देशमा नवधनाढयहरुको उदय भयो । बहुसंख्यक जनताका समस्या ज्युंकातीउं रहे । यिनै समस्याहरुबाट उन्मुक्तिको लागि माओवादीले जनयुद्धको नाउँमा हतियार उठायो । दश बर्षे जनयुद्धको अवधीमा माओवादी र राज्यका तर्फबाट गरी तेह्र हजारको ज्यान गयो । दरबार हत्याकाण्ड र राजाको प्रत्यक्ष शासन हुँदै गणतन्त्रको स्थापनासम्म आइपुग्दासम्म नेपाली राजनीतिमा अझै धमिलो पानी वगिरहेको छ । त्यही धमिलो पानीमा माछा मार्न केही दक्षिणपन्थीहरु सलबलाइरहेका छन् । नयाँ सविधान बन्ने अझै टुंगो छैन । नेताहरु आˆनो पद जोगाउनमा नै व्यस्त छन् । सीमानामा भारतीय सिमा सुरक्षा वल एसएसवीको आतंकबाट जनता पिडित छन् । सिमाना मिचिएको मिचियै छ, नेताहरुलाई मतलव छैन । शान्ति सुरक्षाको ग्यारेण्टी गर्नेहरुनै अपराधीलाई बचाउन उद्धत छन् । एकाथरी नेताहरु वर्तमान सरकार ढाल्न कसरत गर्दैछन् भने अर्काथरी नेताहरु आफ्नो पद र कुर्सी जोगाउनमा । देशको सार्वभौमिकता, नयाँ संविधान, शान्ति सुरक्षा लगायत देशका जल्दाबल्दा समस्याहरुप्रति कुनै नेताहरु चिन्तित देखिएनन् बरु कुकुरजस्तो सबै आ-आफ्नो व्यक्तिगत स्वार्थको लागि संधै झगडामै व्यस्त रहे । यस्तो अवस्थामा पनि हामी भेडा जनताहरु केही गर्न सकिरहेका छैनौं । तर कहिलेसम्म चुप बस्ने यसरी ?
Sunday, April 25, 2010
कुकुर नेता र भेडा जनता
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment