"जीवन एउटा फूल हो, प्रेम त्यसको सौरभ l" ----भिक्टर ह्युगो l
मैले बूढों उमेरमा Deutsch (जर्मन) भाषा सिक्दैछु l आज बिहानै भाषा कक्षामा जान कोठाबाट निक्लदै थिएँ l ढिला भएको कारण हुइकिएर बाहिरिदै थिएँ l २ वटा शीशा भएका ढोकाहरु बाहिर पुगेको थिएँ, एउटी मरिया नाम गरेकी (अन्दाजी ४० वर्षकी) टुर्किस महिलाले भित्रको Waschraum (लुगा धुनें कोठा) बाट चिच्याउदै हात हल्लाउन थालिन l मैले सोचें कुनै महत्वपूर्ण कुरा छ होला l उनी भित्रबाट निस्कीइन, मतिर आइन र पहिलो शिशावाला ढोका खोलिन l मैले पनि मेरो नजिकको शिशावाला ढोका खोले l मैले सोधे - "Bitte (कृपया)!" उनी मुस्कुराउदै मज्जा गर्दै थिइन - "Guten Morgen und Tschuss (बिहानको नमस्कार र बाई) !" मैले सोचे - हतारको बेला बूढीले २ मिनट खेर फाल्दिइन l
आज जर्मनमा महिलाहरुको यस्तो सोच्ने दिन रहेछ कि ? क्लासमा एउटी पोलनिश युस्तिना (२८ वर्ष) ले साँझ साढ़े सात बजेदेखि ९ बजेसम्म चल्ने "Sprachen Kaffee" मा आउन अनुरोध गरिन l त्यहाँ कफी पार्टी हुन्छ र Deutsch भाषामा कुराकानी गर्न पाइन्छ विभिन्न मुलुकका साथीहरुसंग l युस्तिनाले मलाई निम्ता गर्नुमा पनि मलाई शंका छ किनकि उनले मलाई एकदिन भनेकी थिइन - "Ich mag dich. (म तपाईलाई मन पराउंछु) l" यहाँ यस्तो भन्नु त normal हो l मैले भने - म अरु कोहीसंग engaged छु l तर यत्ति कुराले उनलाई विश्वाश छैन l यदि मैले उनलाई थोरै मन दिने हो भने भन्न सक्छिन - "Ich liebe dich (म तपाईलाई माया गर्छु)" l यस्तो भन्न थालेमा प्रेमका लागि पूर्ण रुपमा मन दिएको मानिदो रहेछ यहाँ l मैले भन्ने वातावरण तयार हुन दिएको छैन l "म रुपमा त्यस्तो Hansy पनि छैन तर किन ......... यस्तो ?" मेरो मनोवाद हो भर्खर डायरीमा यही कुरा लेखेको छु l
अँ .... मलाई २०५८ सालतिरको कुरा याद आयो l एकदिन काठमाण्डौबाट बागलुंगको यात्रा गर्दाको कुरा हो, रात्री बसमा l मुग्लिनमा खाना खानुपर्छ सबै यात्रीले l मलाई इन्डियन रोटी मनपर्ने l त्योभन्दा पनि इन्डियनको फ्राइड दाल मिठो लाग्ने l म गाड़ी रोकेको विपरीत दिशाको होटेलमा गएर रोटी दाल खान शुरू गरे l किन हो कुन्नि ? मेरो आँखा नजिकैको २ वटी केटीहरुमा परयो l हेरे, केही कल्पना गरे कि, निक्कै राम्री रहेछन भनेर l म चढेको गाड़ीबाट २ जना ठिटाहरु निस्किए l ढल्कदै र कपाल मिलाउदै पल्याकपुलुक चारै दिशा नजर नचाए उनीहरु l अनि बढे उही मेरो आँखा परेकी नानीहरूकहाँ l
दुबैलाई राम्रोसंग चिन्थे म l किन कि छोरालाई विदेश पठाउन भनेर एउटा चाहिको बाबा मसँग पनि "पैसा सहयोग गर्नुपरयो जेठा" भन्न आउनुभएको थियो l म त्योंताका नि.मा.वि. शिक्षक, के सहयोग गर्न सक्थे र ? मेरो भाउजुले दोब्बर दिने शर्तमा २ तोला सुन दिनुभएको थियो उसको लागि l सत्य कुरा बोल्नुपर्छ, अर्को चाही मेरै गा.वि.स. को र मेरो विद्यार्थी थिए l केटाहरु राम्री राम्री मैयाहरुलाई देखेपछि हुरुक्क... अनि त शान देखाउन शुरू गरिहाले l हाम्रा बाबाहरू दिनभरि चिसोमा काम गर्दा सर्दी लागेर जिउ दुखाइलाई ठीक पार्न झ्वाई खट्टे बनाइ पिउने रहर छंदा पनि खल्तीमा १५ रुपैयाँ नभएर खोयाबिर्के (बियरको बोतलमा राखेर बेचिने स्थानीय रक्सी, बोतलमा मकैको खोयाको बिर्को लगाइन्छ) लिनुहुन्नथ्यो कैयनपटक l
यी बाबुहरु, सुको कमाएका हैनन, दलालले कस्तो ठाउंमा फाल्दिने हो थाहा छैन, १३० का दरमा ८ वटा बोतलहरु ढलाए l झल्झली उसको बाबाको अनुरोध सम्झिएं l तर मात चढेको थियो १८ वर्षे ठिटाहरुमा l माफ़ गर्नुहोला मैले त्यहाँ सम्झाउंन सकिनं उनीहरुलाई l
सुनेको छु, प्रेमले सप्रन्छन रे, कोही बिग्रन्छन रे पनि l खोई कुरो जटिल लाग्छ मलाई l प्रीतिको डढेलोबाट जोगिएर होला सायद तर OGA त रहेछ ममा पनि l फेरि मेरै कुरा l मान्छेको मन न हो, Deutsch क्लासबाट फर्कने बेलामा एउटी सुन्दरी नानीको छेवैमा सिट खाली रहेछ l उनको पछाडिका सिटहरु खाली त थिए तर म उनकै छेउमा बसे l सोधे - "Wo wohnen Sie ? Sind Sie Schülerin ? कहाँ बस्नुहुन्छ ? तपाई विद्यार्थी हुनुहुन्छ ?" आदि आदि ............ l शेरबहादुर छन्त्यालजीले मलाई सधै भन्नुहुन्छ : "तपाई अलिक मनका कुरा पनि ब्लगमा लेख्नुहुन्छ l आफ्नो हैसियतलाई ख्याल राखेर लेख्नुस l"
अहिले मलाई लागेको छ - "मैले भूल त गर्दै छैन ? विपरीत लैंगिक आकर्षण (Opposite Gender Attraction) लाई चाही मैले वशमा राख्नुपर्छ ............हत्तेरी, कता कता बरालिएछु कि क्या हो म त ?"


0 comments:
Post a Comment